अर्थमन्त्री पुन भन्छन्- सरकार भारतीय अर्थतन्त्रबाट लाभ लिने नीतिमा छ

बिजमाण्डू
२०८० चैत्र २८ गते १९:२२ | Apr 10, 2024
अर्थमन्त्री पुन भन्छन्- सरकार भारतीय अर्थतन्त्रबाट लाभ लिने नीतिमा छ
अर्थमन्त्री वर्षमान पुन, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र भारतीय उद्योग परिसंघका अध्यक्ष सञ्जीव पुरी

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सरकार भारतीय अर्थतन्त्रबाट लाभ लिने नीतिमा रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बुधबार भारतीय उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भएको भेटमा भारतीय अर्थतन्त्रबाट लाभ लिने गरी नीति बनाइने बताए।

‘भारतको आर्थिक वृद्धि अघिल्लो वर्ष पनि राम्रो थियो। यो वर्ष पनि राम्रो हुने देखिएको छ’, मन्त्री पुनले भने, ‘भारतीय अर्थतन्त्र सुधार हुँदा एक हदसम्म नेपालमा पनि त्यसको राम्रो प्रभाव पर्छ।’

सन् २००८ को आर्थिक मन्दी र कोरोना महामारीको समयमा भारतीय अर्थतन्त्र नबिग्रिएका कारण नेपली अर्थतन्त्र मन्दीको प्रभावबाट छिट्टै सुधारिएको उनको भनाइ थियो।

मन्त्री पुनले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले थप लगानी ल्याउन भारतीय उद्योगीसँग आग्रह गरे। ‘भारतीय लगानीकर्ताको नेपालमा योगदान छ,’ उनले भने, ‘तेश्रो लगानी सम्मेलनको संघारमा म यसअघि लगानी गरिरहेकाहरुलाई लगानीको क्षेत्र विस्तार गर्न आग्रह गर्छु। नयाँ लगानीकर्तालाई नेपालमा स्वागत गर्ने नीति रहेको जानकारी गराउन चाहन्छु।’

सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दैछ। अर्थमन्त्री पुनले भारतीय व्यवसायीलाई नेपालमा ऊर्जा र सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गरे।

परिसंघका अध्यक्ष सञ्जीव पुरीले नेपालमा लगानी ल्याउन भारतीय लगानीकर्ता सकारात्मक रहेको बताए। भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि सहभागी थिए। पुरी महासंघको ५८औं साधारण सभामा भाग लिन काठमाडौं आएका हुन्।