कोशीका प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभाको विशेष अधिवेशन, वैशाख ६ गतेका लागि बैठक तय

बिजमाण्डू
२०८० चैत्र २८ गते १७:०५ | Apr 10, 2024
कोशीका प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभाको विशेष अधिवेशन, वैशाख ६ गतेका लागि बैठक तय

विराटनगर : कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गते दिनको १ बजेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम पदेशप्रमुख परशुराम खापुङले विशेष अधिवेशनको आह्वान गरेको विज्ञप्ति प्रकाशित गरेका हुन्।

Tata
GBIME
Nepal Life

संविधान अनुसार प्रदेशसभाका कम्तीमा एक चौथाइ सदस्यले अनुरोध गरेमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। विज्ञप्तिमा प्रदेशसभाका एक चौथाइभन्दा बढी सदस्यले विशेष अधिवेशनका लागि लिखित अनुरोध गरेको उल्लेख छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका थिए। सोमबार एमालेका ३९ र माओवादी केन्द्रका १३ गरि ५२ सांसद्ले मुख्यमन्त्री केदार कार्की माथि विश्वास नभएको भन्दै विशेष अधिवेशनका लागि खापुङसमक्ष लिखित निवेदन दिएका थिए।

एमालेको सहयोगमा धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की पछिल्लो समय एमाले र माओवादी केन्द्रको ‘नयाँ गठबन्धन’ बनेपछि अल्पमतमा परेका छन्।

कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्रका ३ मन्त्रीले चैत २६ मा नै राजीनामा दिइसकेका छन्। अब मुख्यमन्त्री कार्कीले एक महिना अर्थात् वैशाख २५ गतेभित्र संसदमा विश्वासको मत सिद्ध गर्नुपर्ने हुन्छ ।

कार्कीले भने आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएकोले २ वर्षसम्म कसैले हटाउन नसक्ने तर्क गर्दै आएका छन्।