गृहमन्त्री र अर्थमन्त्रीलाई सँगै राखेर प्रधानमन्त्री प्रचण्डको निर्देशन : व्यवसायीलाई बिना कारण नतर्साउनु

बिजमाण्डू
२०८० चैत्र २८ गते १६:३० | Apr 10, 2024
गृहमन्त्री र अर्थमन्त्रीलाई सँगै राखेर प्रधानमन्त्री प्रचण्डको निर्देशन : व्यवसायीलाई बिना कारण नतर्साउनु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायीहरुलाई बिना कारण नतर्साउन निर्देशन दिएका छन्। अर्थमन्त्री वर्षमान पुनले आज आफू र गृहमन्त्री रवि लामिछानेलाई सँगै राखेर प्रधानमन्त्रीले निर्देशन दिइको बताएका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघको राजधानीमा जारी ५८औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रिया उनले भने, ‘मन्त्रिपरिषद् पुन: गठन पछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र मलाईलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई अकारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिएका छन्।’

सो अवसरमा पुनले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने भन्दै सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीलाई आग्रह समेत गरेका छन्।

पुनले गल्ती गर्ने माथि पर्याप्त छानबिन गरेर तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने बताए। तर, व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न अनुसन्धान गर्ने निकायका अधिकारीलाई आग्रह पनि गरिएको जानकारी दिए।

‘राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न हुँदैन। निजी क्षेत्रले राज्यलाई र राज्यले निजी क्षेत्रलाई कमजोर बनाउने काम गर्नु हुँदैन,’ उनले भने।

आगामी दिनमा विवेक प्रयोग गरेर मात्र अनुसन्धान हुने र व्यक्तिका सामाजिक मर्यादाको सम्मान हुनेमा सरकारका तर्फबाट उनले प्रतिबद्धता व्यक्त गरे।