४३९ मेगावाटको बेतन कर्णाली निर्माण तयारी, अन्तिम अनुमति पर्खिँदै कम्पनी

बिजमाण्डू
२०८० चैत्र २६ गते ०९:३८ | Apr 8, 2024
४३९ मेगावाटको बेतन कर्णाली निर्माण तयारी, अन्तिम अनुमति पर्खिँदै कम्पनी

काठमाडौं। कर्णाली नदीमा प्रस्तावित ४३९ मेगावाटको प्रस्तावित आयोजना बेतन कर्णाली निर्माण थाल्ने तयारीमा छ। यसका लागि आयोजना विद्युत विकास विभागमा अनुमतिको पाउने अन्तिम प्रक्रियामा पुगेको छ।

Tata
GBIME
Nepal Life

एनइए इन्जिनियरिङ कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजना निर्माणमा ८८ अर्ब रुपैयाँ लगानी हुने अनुमान छ। अछामको तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिका एवं सुर्खेतको पंचपुरी नगरपालिका र नौकुने गाँउपालिका भएर बग्ने कर्णाली नदीको पानी उपयोग गरिने  बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना हो।

आयोजना निर्माणका लागि बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड विभागबाट अन्तिम अनुमतिको पर्खाइमा छ। विभागले उक्त आयोजना निर्माण गर्दा कुनै वातावरणीय असर पर्ने भए राय सुझाव पठाउन सरोकारवालालाई राय सुझाव पठाउन आह्‍वान गरेको छ।

कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन सेप्टेम्बर २०२० तथा उक्त आयोजनाको स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन विभागमा बुझाएको छ।

प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र सम्बन्धित सरोकारवालाले लिखित राय सुझाव विभाग वा उक्त कम्पनीको कार्यालयमा पठाउन सक्ने सोमबार प्रकाशित सूचनामा उल्लेख छ।  

आयोजनाको जडित क्षमता ४३९ मेगावाट हुनेछ। जसमा मुख्य पावरहाउसबाट ४३०.१३ मेगावाट र वातावरणीय बहावबाट थप ८.८ मेगावाट विद्युत उत्पादन हुनेछ।

डिजाइन प्रभाव ५३६ घनमिटर प्रति सेकेण्ड र कुल हेड करिब ९९.१३ रहनेगरि मुख्य विद्युतगृहबाट ४३०.१३ मेगावाट उत्पादन हुनेछ। साथै डिजाइन प्रभाव १३.४८ घनमिटर प्रतिसेकेन्ड र कुल हेड करिब ७८.३ मिटर रहने गरी वातावरणीय बहावबाट थप ८.८ मेगावाट उत्पादन हुनेछ। आयोजनाले वार्षिक सरदर २३०२.५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन गर्नेछ।

 आयोजनाको मुख्य संरचनाहरू कर्णाली नदीको दायाँ किनारा ढकारी गाउँपालिकामा निर्माण गरिने छ।  नदीमा पक्की बाँध बनाएर दायाँपट्टि निर्माण हुने इनटेकबाट पानी फर्काइने छ। ढकारी-६ मा निर्माण हुने विद्युतगृह भूमिगत हुनेछ। त्यहाँ ७१,६५० किलोवाटका ६ वटा टर्बाइनमा हुनेछन्। विद्युत उत्पादनपछि पानी टेलरेस टनेलमार्फत पुनः कर्णाली नदीमा पठाइने डिजाइनमा छ।

विद्युत उत्पादनका लागि नदीको पानी फर्काउन बनाइने बाँध १७२.७५ मिटर लम्बाइ र १० मिटर चौडाइको हुनेछ। बाँधको निर्माणका कारण १६१.६९ एमएम३ क्षमताको जलाशय बन्नेछ। बाँध नदीको जमिन सतहबाट २० मिटर अग्लो रहनेछ।

उत्पादित ऊर्जालाई विद्युत गृहको  स्वीचयार्डमा हुने ट्रान्सफर्मरबाट ५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको बेतन हबमार्फत नेपाल विद्युत प्राधिकरणको दोधारा सबस्टेसनमा जोडिने छ। यो आयोजना निर्माण तत्काल सुरु हुन सके २०८८ भदौदेखि विद्युत उत्पादन सुरु हुने कम्पनीको प्रस्तावमा छ।

२० अर्ब स्वपुँजी र बाँकी बैंकहरुको ऋण लगानी रहने आयोजनाका लागि सहवित्तीयकरणको नेतृत्व ग्लोबल आइएमई बैंकले गर्दैछ। कम्पनीले सुरुमा स्वपुँजी लगानी गर्ने र ६० प्रतिशत लगानीपछि बैंकहरुको लगानी उपयोग गर्ने योजना बनाएको छ।