सातपटक ‘जब रिजेक्सन’ले सुसाइड मुडमा पुगेकी राधिकाको असाधारण सफलता, उद्यमको रोलमोडल बनिन्

भावना शर्मा
२०८० फागुन २५ गते ०९:०७ | Mar 8, 2024
सातपटक ‘जब रिजेक्सन’ले सुसाइड मुडमा पुगेकी राधिकाको असाधारण सफलता, उद्यमको रोलमोडल बनिन्

जन्मजात बांगिएको गर्धन भएकी एक युवती, जसको बाल्यकाल आफ्नो शारीरिक कमजोरीबाट उब्जिएको हीनभाव र डिप्रेसनमा बित्यो। तिनै अहिले असाधारण सफलताका कारण चर्चामा छिन्।

Tata
GBIME
Nepal Life

भारतकी राधिका गुप्ता विश्वभरका उद्यमी तथा व्यापारिक जगतमा प्रेरक बनेकी छन्, जसले कुनै समय पटक पटक पाएको असफलतापछि हार खाएर आत्महत्याको बाटोसम्म रोज्ने निर्णय गरेकी थिइन्।

एडलविस म्युचुअल फण्डकी सीइओ तथा एमडी राधिका गुप्ता सार्क ट्यांक इन्डिया नामको भारतीय रियालिटी टेलिभिजन शोमा आएपछि अझै बढी चर्चामा आइन्।

३३ वर्षमै सीइओ तथा ३६ वर्षकै उमेरमा पहिलो भारतीय हेज फण्ड स्थापना गरेकी राधिका विश्वभरका उद्यमीहरुका लागि वास्तविक उत्प्रेरक व्यक्तित्व हुन्।

राधिकाका बुवा भारतीय परराष्ट्र सेवामा थिए। उनको परिवारमा शिक्षाको महत्त्व असाध्यै थियो। तर राधिका जन्मजात स्वास्थ्य समस्या लिएर आएकी थिइन्। सन् १९८३ मा जन्मिएकी उनी जन्मदाको समयमा उत्पन्न जटिलतका कारण गर्धन एकातर्फ बांगिएको थियो। आफ्नो शारीरिक अवस्था अरुको भन्दा फरक र असहज भएपछि राधिका सानैदेखि एकांकीपन रुचाउने किसिमकी भइन्। उनलाई आफ्नो शारीरिक अप्ठेरोपनले निकै कमजोर महसुस गराउँथ्यो।

राधिका अन्तर्मुखी स्वभावकी थिइन्। उनका बुवाको दुई तीन वर्षको अन्तरालमा विभिन्न देशहरुमा सरुवा भइरहन्थ्यो। त्यसैले राधिकाले पनि सानैदेखि बुवासँगै विभिन्न देशहरुमा कहिले कता कहिले कता कुदिरहनुपर्थ्यो। ती देशका फरक फरक वातावरणमा एडजस्ट गर्न उनलाई गाह्रो हुने गर्थ्यो। न सँगैका साथीभाईले खेले जसरी उनी खेल्न सक्थिन् न त अरुका सामु उभिँदा आत्मविश्वासका हुन्थ्यो।

तर सानैदेखि शारीरिक कठिनाइ वा फरकपनको सिकार भएकी उनलाई बुवाआमाले भने कहिल्यै हतोत्साहित गरेनन्। परम्परागत खेलहरुमा सहभागी हुन नसक्ने भए पनि राधिकालाई उनका बुवाले प्रेरित गरे र उनी तासको पत्ताहरुको सहायतामा खेलिने ब्रिज गेमतर्फ आकर्षित भइन्। १३ वर्षकै उमेरदेखि उनले ट्रिक टेकिङ गेमका रुपमा लिइने यो खेल खेल्न थालिन्।  उनको लागि बुवाआमाले हरेक रुचिहरुमा सघाउँदै गए।

स्कुलको पढाइ सकेपछि अमेरिकी विश्वविद्यालयमा अप्लाइ गर्ने क्रममा राधिकामा दुविधा थियो। जब कलेजका काउन्सिलर सामु उभिएर उनले आफ्नो खुबीबारे बताउनुपर्ने भयो त्यसबेला उनलाई लाग्यो –’म भित्र त्यस्तो अदभुत् कला केही छैन।’

बहुत इमानदारीका साथ उनले भनिन् –’न म कुनै ओलम्पिक मेडलिस्ट हुँ न म्युजिकल अवार्ड विनर अनि न त कुनै अदभुत् प्रतिभावान व्यक्ति नै। तर म यहाँ पढाइ सकेपछि म्यानेजमेन्ट कन्सल्टिङको क्षेत्रमा काम गर्न चाहन्छु।’

राधिकाको त्यो अपरम्परागत शैली र इमान्दारिताले नै काउन्सिलरको मन जित्यो र उनले प्रतिष्ठित वार्टन बिजनेस स्कुलमा भर्ना पाइन्।

पढाइ सकिएपछि जब करिअरको छनोट गर्ने समय आयो त्यसबेला भने राधिकाले जीवनको सर्वाधिक कठिन समयहरु झेल्नु पर्‍यो। पढाइपछि उनले लगातार सातवटा फर्महरुमा रोजगारीका लागि अप्लाइ गरिन्। तर ती सातैवटा फर्मले उनलाई रिजेक्ट गर्‍यो।

उनलाई लाग्यो –’मेरै शारीरिक कमजोरीका कारण यो सबै भइरहेको छ।’

चिन्ताले गाँज्दै लगेपछि राधिका कतिबेला डिप्रेसनको तहमा पुगिन् पत्तै भएन। डिप्रेसनले ग्रस्त राधिकाले सुसाइड गर्ने मनस्थितिमा थिइन्। तर उनकी बेस्ट फ्रेन्डले उनको अवस्थाको बारेमा बुझेर मनोसामाजिक परामर्शका लागि लगेपछि राधिकाको विक्षिप्त मनमा शान्ति छायो।

उनको जीवनमा त्यतिबेला टर्निङ पोइन्ट आयो जतिबेला बिजनेस एनालिस्टको रुपमा म्याकिन्से एण्ड कम्पनीमा प्रवेश पाइन्। यसले राधिकाको करिअर जर्नी अमेरिकाको वाल स्ट्रिटसम्म पुग्यो।

त्यहाँ काम गरेको केही समयपछि उनले एक्यूआर क्यापिटल म्यानेजमेन्ट कम्पनीमा पोर्टफोलियो म्यानेजरका रुपमा काम गरिन्। विस्तारै उनी भारत फर्किएर आफ्नै देशमा वित्तीय सेवा व्यापार सुरु गर्ने मनसाय बनाइन्। सन् २००९ मा उनले आफ्नै कम्पनी फोरफ्रन्ट क्यापिटल म्यानेजमेन्ट खोलिन्, जसले वैकल्पिक लगानीको क्षेत्रलाई लक्षित गरेको थियो।

उनले एक्यूआर कम्पनीका पूर्व सहकर्मी र श्रीमान नलिन मोनिजसँग मिलेर उक्त कम्पनी खडा गरेकी थिइन्। यो कम्पनी भारतकै पहिलो घरेलु कम्पनीका रुपमा दर्ता भएको हेज फण्ड थियो। यसको पाँच वर्षपछि अर्थात सन् २०१४ मा उनीहरुको कम्पनीलाई विश्वप्रसिद्ध कम्पनी एडलविस फाइनान्सियल सर्भिसेसले अक्वायर गर्‍यो।

एडलविस मल्टी स्ट्राटेजी फण्ड म्यानेजमेन्ट केही समय संचालन गरेपछि राधिका एडलविस म्युचुअल फण्डकै सीइओ बनिन्। उनको सफल उद्यमीतर्फको यात्रालाई कठिन र साहसिक तथा मेहनतको उदाहरणको रुपमा लिइन्छ। लाखौं चुनौतीका बाबजुद धैर्यताका साथ आफ्नो सपना पूरा गर्न सक्ने व्यक्तिका रुपमा उनको चर्चा हुन थालेको छ।

आज राधिका भारतमा मात्र नभइ विश्वभर नै सम्मानित बिजनेस पर्सन तथा हरेक व्यक्तिका लागि रोलमोडलको रुपमा छिन्।

उनकै नेतृत्वमा भारतमा पहिलोपटक कर्पोरेट बन्ड लन्च भयो। एडलविस म्युचुअल फण्डले सन् २०१९ मा भारत बन्ड इटीएफ लन्च गर्‍यो, जुन कम्पनीकै ग्रोथका लागि पनि कोसे ढुंगा साबित भयो। अहिले उनी एक लाख करोड रुपैयाँभन्दा माथिको कम्पनी संचालन गर्छिन्। सन् २०१७ मा ९००० करोड सम्पत्ति भएको एडलविस हाल एक लाख करोड रुपैयाँको भइसकेको छ।  

अहिले राधिका हरेक फोरममा सबैलाई आफ्नो फरकपन र विशेषता दुवैलाई स्वीकार गरेर अघि बढ्न प्रेरित गर्छिन्।

उनी हरेक व्यक्तिलाई आफ्नो कमी कमजोरी र बलियो पक्षहरुको पहिचान गरी त्यसलाई ‘सेलिब्रेट’ गर्न आग्रह गरिरहन्छिन्। उनलाई मेन्टरसिप कार्यक्रमहरुमा पनि रुचि छ। उनले आफ्नो फन्ड हाउसमा काम गर्न धेरैभन्दा धेरै महिलाहरुलाई प्रेरित गर्छिन्। हाल एडलविसमा ३० प्रतिशत भन्दा बढी महिला छन्, जुन भारतीय वित्तीय सेवाको क्षेत्रमा धेरै बढी हो।

राधिका आफ्नो जीवनको प्रेरणा बुवालाई मान्छिन्। बुवाले उनलाई सधैं अघि बढ्न मद्दत गरे। उनी सानै छँदादेखि बुवाले उनलाई भन्ने गरेको सम्झना छ- ‘हरेक पुस्ताले गरिबीबाट बाहिर निस्कनका लागि क्वान्टम लिप लिनैपर्छ।’

विभिन्न आर्थिक सीमितताका बाबजुद राधिकालाई उनका रुचिहरु पूरा गर्न र विदेश गएर पढ्नका लागि उनका बुवाले निकै मद्दत गरे, जुन पढाइ नै पछि गएर राधिकाका लागि ‘क्वान्टम लिप’ साबित भयो।

यिनै प्रयासका कारण उनले  संघर्षपछिको वास्तविक सफलता चाख्न पाइन्। जम्मा २२ वर्षकै उमेरमा राधिका सात ठाउँमा जागिरबाट रिजेक्ट भएकी थिइन्। तर २५ वर्षको उमेरमा भारत फर्किएर आफ्नै एसेट म्यानेजमेन्ट फर्म खोल्ने तथा ३३ वर्षको उमेरमा प्रसिद्ध कम्पनीको सीइओ बनेर त्यसलाई हाँक्न सक्ने पनि उनी छोटो समयकै अन्तरालमा बनिन्।

राधिकाले लेखेको ‘लिमिटलेस: द पावर अफ अनलकिङ योर ट्रु पोटेन्सियल’ किताबको एउटा च्याप्टरको शीर्षक छ “टीजीआइएफ- थ्यांक गड आइ एम फ्लडज !”  अर्थात धन्य ईश्वर म त्रुटिरहित छैन।

उनले लेखेकी छन् –’जब मानिसले यो संसारमा आफू मात्र त्रुटि वा कमीकमजोरी सहितको व्यक्ति होइन है भन्ने स्वीकार गर्ने क्षमता बटुल्छ, त्यसपछि मात्र मानिसलाई सामान्य मानिसका रुपमा जिउन प्रेरित गर्छ।’  

उनले आफ्ना धेरै अन्तर्वार्ताहरुमा आफ्नो बांगो घाँटीप्रति पहिले असाध्यै बढी ध्यान दिने तथा  ‘सेल्फ कन्सियस’ हुने गरेको बताउँछिन्।

तर समयसँगै उनले आफ्नो शारीरिक कमजोरीलाई फरक ढंगले हेर्न थालिन्। र त्यही बांगो घाँटीकै कारण आफू अरुभन्दा फरक भएको रुपमा स्वीकार गरिन्।  उनी आफ्ना कमीकमजोरीहरु स्वीकार गर्नु नै मानिसको सबैभन्दा ठूलो शक्ति भएको बताउँछिन्।

उनले सफलतातर्फ उन्मुख हुनका लागि उपयोगी केही टिप्सहरु समेत दिएकी छन्।

  • कुनै पनि कुराको लागि अस्वीकृत हुनुलाई जवाफका रुपमा लेउ, त्यसले तिमीलाई अझ राम्रो बाटो तर्फ लैजानेछ।
  • आफ्नो सुधारका लागि काम गर। अरुले दिएका फीडब्याकलाई सुन्ने गर।
  • जोखिम लिन सुरु गर।
  • आफूले जे गर्न चाहेको हो त्यसप्रति सन्देह नराखी काम गर।
  • आफूले जुन कुरा जानेको छैन त्यसबारेमा जानकारसँग सहयोग माग्न नहिच्किचाउ।
  • वर्क लाइफ पर्फेक्ट बनाउने भन्दा पनि वर्क लाइफ इन्टिग्रेसनका लागि प्रयास गर।
  • अपांगता वा अशक्तता हेर्ने दृष्टिकोणमा भर पर्छ।