ट्‍वीनअटर जहाज किन्ने किराती र अधिकारीको योजनामा ठेस, तीनमध्ये दुई कम्पनीको प्राविधिक प्रस्ताव फेल

वसन्तराज उप्रेती
२०८० माघ ११ गते १२:०३ | Jan 25, 2024
ट्‍वीनअटर जहाज किन्ने किराती र अधिकारीको योजनामा ठेस, तीनमध्ये दुई कम्पनीको प्राविधिक प्रस्ताव फेल

काठमाडौं। दुई वटा ट्‍वीनअटर जहाज खरिद गर्ने पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको योजनामा ठेस लाग्न पुगेको छ।

Tata
GBIME
Nepal Life

निगमले गरेको टेण्डरमा भाग लिएका तीनमध्ये २ कम्पनीको प्राविधिक प्रस्ताव फेल भएपछि किराती र अधिकारीको योजनामा ठेस लागेको हो।

निगमले गठन गरेको मूल्यांकन समितिले डोर्नियर जहाज उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स र ट्‍वीनअटर जहाज उत्पादक क्यानडाको डी हेभिल्याण्डलाई अयोग्य ठहर्‍याएको छ। निगमले तीन महिनाअघि गरेको टेण्डरमा तीन कम्पनीले भाग लिएका थिए। अर्को कम्पनी लेट ४१० उत्पादक चेक रिपब्लिक एयरक्राफ्ट इण्डस्ट्रिज हो।

उपप्रबन्ध निर्देशक जनक कालाखेती, वित्तीय निर्देशक उमेश पौडेल, मानव संसाधन विभागका निर्देशक अशोक सिग्देल लगायत रहेको समितिमा चेक रिपब्लिक एयरक्राफ्ट इण्डस्ट्रिजको मात्र प्राविधिक प्रस्ताव पास भएको छ।

निगमका अध्यक्षले डी हेभिल्याण्डका प्रतिनिधिसँग डिल गरेर जहाज किन्ने प्रक्रिया अघि बढाएका थिए। उनले १० महिनाअघि नै डी हेभिल्याण्डका प्रतिनिधिसँग डिल गरेपछि मन्त्री किरातीलाई मनाएर जहाज खरिदका लागि दसैं बिदामा टेण्डरको सूचना निकालेका थिए। ‘अध्यक्षले जहाज किन्न चाहेको कम्पनी प्राविधिकरुपमा फेल भयो,’ समितिका एक सदस्यले भने।

अधिकारीले किन्न चाहेको ट्‍वीनअटर जहाज ‘डीएचसी ६-३००’को उत्पादन नै हुन छोडिसकेको समितिका अर्का सदस्यले बताए। यही सिरिजको डीएचसी ६-३०० जी मोडलको जहाज उत्पादन गर्न भने अझै समय लाग्ने देखिएकाले समितिको मूल्यांकनमा डी हेभिल्याण्डको प्रस्ताव फेल भएको हो।

नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज

समितिले ट्‍वीनअटर जहाज भायवल नरहेको प्रतिवेदन दिएको छ। समितिले प्राविधिक प्रस्ताव मूल्यांकन गरी तयार पारेको प्रतिवेदन अध्यक्ष अधिकारीको हातमा परिसकेको छ।

अर्को आवेदक कम्पनी हिन्दुस्तान एरोनोटिक्स भने योग्यताका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा टाइप रेटिङ हुन नसक्ने भएपछि अयोग्य ठहरिएको छ। ‘हिन्दुस्तान एरोनोटिक्सले डोर्नियर उत्पादन गर्दै आएको छ। तर उसले उत्पादन गरेको जहाजले मापदण्डअनुसार ५ वर्ष उडान संचालन गरिसकेको छैन। जसले गर्दा उसले प्राधिकरणबाट टाइप रेटिङ सर्टिफिकेट पाउने सम्भावना देखिंदैन,’ समितिका एक सदस्यले भने, ‘जर्मनीमै उत्पादन भएको जहाज भए मान्य हुन्थ्यो।’

दुई कम्पनीको प्राविधिक प्रस्ताव फेल भएपछि तत्कालका लागि जहाज खरिद प्रक्रिया तत्कालका लागि तुहिएको छ। सार्वजनिक खरिद ऐनअनुसार विना प्रतिस्पर्धा खरिद गर्न पाईंदैन। प्राविधिक प्रस्तावमा फेल भएका कम्पनीले आर्थिक प्रस्ताव पेस गर्न पाउँदैनन्। प्राविधिकरुपमा एउटा कम्पनी मात्र पास भएकाले जहाज खरिद प्रक्रिया तत्कालका लागि तुहिएको हो।

डोर्नियर जहाज

लेट ४१० उत्पादक चेक रिपब्लिक एयरक्राफ्ट इण्डस्ट्रिज प्राविधिक मूल्यांकनमा पास भएपनि अधिकारीले त्यो कम्पनीसँग जहाज किन्न चाहेका होइनन्।

अर्को कुरा विकट क्षेत्रमा उडानका लागि लेट ४१० जहाज उपयुक्त मानिए पनि यो जहाज निगमका लागि सेतो हात्तीसरह हुन्छ। किनभने यो कम्पनीको जहाज चलाउन निगमले पाइलटदेखि इन्जिनियरलाई तालिम दिनुपर्दा ठूलो रकम खर्च हुन्छ। निगमले यसअघि एयरबसका जहाज चलाउन पाइलट र इन्जिनियरको तालिममा ३ अर्ब रुपैयाँ खर्च गर्नुपरेको थियो। हाल निजी वायुसेवा प्रदायक कम्पनी समिट एयरले लेट ४१० जहाजमार्फत नियमित उडान गर्दै आएको छ।

लेट ४१० जहाज

‘लेट जहाज ल्याउँदा निगम चिनियाँ जहाजजस्तै ट्रयापमा पर्नेछ। अहिले तीन वटा ट्‍वीनअटर जहाज छन्। लेट जहाज ल्याउँदा पाइलटदेखि इन्जिनियर लगायतलाई तालिम दिनुपर्छ,’ निगमका एक प्राविधिकले भने,’पार्टपुर्जा, इन्जिनियरिङ लगायत तालिमका लागि करोडौं रुपैयाँ खर्च गर्नुपर्छ।’ 

निगमले ३ वटा जहाज खरिद गर्न आह्वान गरिएको प्रस्तावमा ३ वटा इच्छुक कम्पनीहरुको प्रस्ताव परी नियम अनुसार मूल्यांकन समितिले कार्य गरिरहेकोले सो प्रतिवेदन बुझाउन बाँकी रहेकै अवस्थामा प्रतिवेदनको नतिजा र निगमका पदाधिकारीहरुबारे उल्लेखित विषयमा असहमति जनाएको छ।

सम्पादकीय नोट : यो समाचारलाई लिएर नेपाल वायु सेवा निगमका प्रवक्ताले प्रेस काउन्सिलमा खण्डनका लागि उजुरी दिएको सम्बन्धमा र काउन्सिलबाट प्राप्त पत्रपछि बिजमाण्डू प्रा लि यो समाचारमा निगमको भनाइलाई समेत स्थान दिएर सम्पादन गरेको छ।