अन्नपूर्ण होटल पुनः संचालनमा ल्याउने तयारी, महाप्रबन्धक नियुक्त, अरु कर्मचारी छान्न बाँकी

बिजमाण्डू
२०८० माघ ८ गते १२:३७ | Jan 22, 2024
अन्नपूर्ण होटल पुनः संचालनमा ल्याउने तयारी, महाप्रबन्धक नियुक्त, अरु कर्मचारी छान्न बाँकी
अन्नपूर्ण होटल

काठमाडौं। करिब ४ वर्षपछि दरबारमार्गस्थित पाँच तारे होटल अन्नपूर्ण पुनः संचालनमा ल्याउन लागिएको छ। कोभिडयता बन्द होटल संचालनमा ल्याउन कर्मचारी भर्ना लगायत प्रक्रिया अगाडि बढाइएको छ।

Tata
GBIME
Nepal Life

होटलले अन्जन बगालेलाई महाप्रबन्धक नियुक्त गरेको छ। होटलकी कार्यकारी निर्देशक सिर्जना राणाले पुनः संचालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिइन्।

‘हामी फरक अवधारणामा सेवा संचालनमा ल्याउनका लागि अहिले गृहकार्य गरिरहेका छौं,’ कार्यकारी निर्देशक राणाले बिजमाण्डूसँग भनिन्, ‘तयारीको चरण नसकिएकाले होटल कहिलेबाट पुन: संचालनमा आउँछ भन्ने टुंगो लाग्न बाँकी छ।’  

                

होटलले एक वर्षदेखि बिक्रीमा राखेको जग्गा नामसारी गर्न कानुनी अड्चन परेपछि नयाँ व्यावसायिक मोडल अगाडि सारेको छ। २०७६ चैतदेखि बन्द भएको होटलले ऋण तिर्न नसकेपछि जग्गा बिक्रीमा राखेको थियो।

तर, हदबन्दीभन्दा बढी जग्गा बिक्रीमा नापी विभागले रोक लगाएपछि होटल लिजमा चलाउने तयारी अगाडि बढाइएको स्रोतले बताएको छ। यसका लागि स्वदेशी र विदेशी लगानीकर्तासँग कुराकानी भइरहेको छ। डिल भारतीय कम्पनीसँगै भइरहे पनि हालसम्म नाम सार्वजनिक गरिएको छैन।

कार्यकारी निर्देशक राणाले भने होटल लिजमा दिने योजना नरहेको दाबी गरिन्। ‘महाप्रबन्धक हामीले नै नियुक्त गरेका हौं। तर होटल पहिले भन्दा फरक रुपमा संचालन गरिनेछ। त्यसका लागि धमाधम काम भइरहेको छ,’ उनले भनिन्।

उनले लिजमा दिने योजना नरहेको दाबी गरेपनि डिल टुंगिन बाँकी रहेकाले अरु कर्मचारी भने भर्ना गरिएको छैन।