जहाज मर्मतमा एनएसी व्यवस्थापनको खेलाँची, इजरायल पठाइएको न्यारोबडी फर्किने मिति अनिश्चित

वसन्तराज उप्रेती
२०८० माघ ५ गते १२:२७ | Jan 19, 2024
जहाज मर्मतमा एनएसी व्यवस्थापनको खेलाँची, इजरायल पठाइएको न्यारोबडी फर्किने मिति अनिश्चित

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी) को व्यवस्थापनले जहाज मर्मतमा खेलाँचीको हद पार गरेको छ। व्यवस्थापनको खेलाँचीले ९ एन-एकेएक्स कलसाइनको न्यारोबडी जहाजको मर्मत अनिश्‍चित हुन पुगेको छ।

Tata
GBIME
Nepal Life

इन्जिनमा समस्याले मंसिर १५ देखि अर्थात ६ साता ग्राउण्डेड भएको जहाज मर्मतका लागि ८ दिनअघि इजरायल पठाइएको थियो। तर जहाज मर्मतको टुंगो लागेको छैन। मर्मतमा व्यवस्थापनको उदासीनताले जहाज अझै करिब डेढ महिना इजरायलमा ग्राउण्डेड हुने संकेत देखिएको एनएसीका उच्च अधिकृतहरुले बताएका छन्।

मर्मत संभारको जिम्मा दिइएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इण्डस्ट्री ‘आईएआई’ हो। यो कम्पनीलाई एनएसीले ९ एन-एकेएक्स कलसाइनको न्यारोबडी जहाजको अर्को इन्जिन साढे तीन महिनाअघि नै मर्मत गर्न दिएको थियो। तर कम्पनीले अझै बनाइसकेको छैन।

ठेकेदार कम्पनीले सम्झौता अनुसार काम नगरेपनि व्यवस्थापनको बेवास्ताका कारण जहाज फर्किने मिति अनिश्चित हुन पुगेको ती उच्च अधिकृतले बताए। ‘जहाज पुस २६ गते साढे तीन महिनाअघि मर्मत गर्न दिइएको इन्जिन जडानका लागि पठाइएको हो। तर त्यो इन्जिन अहिलेसम्म बनेको छैन,’ ती अधिकृतले बिजमाण्डूसँग भने, ‘व्यवस्थापनले एमआरओलाई खासै ताकेता गर्न सकेको छैन।’

जहाजमा इन्जिन जडानको मिति यकिन नभएका कारण चालक दलका सदस्य पुस २७ मा नै इजरायलबाट नेपाल फर्किएका थिए। इन्जिनमा समस्या आए विकल्पमा एक सातामै अर्को इन्जिन व्यवस्थापन गर्नुपर्ने एमआरओ सम्झौतामा उल्लेख छ।

‘जहाज ग्राउण्डेड भएयता आईएआईले भाडाको इन्जिन जोहो गरिदिन्छु भनेर आश्वासन दियो। तर न उसले हाम्रो इन्जिन बनाएर दियो, न त भाडाको इन्जिन उपलब्ध गराउन सक्यो। उसले पाइएन भनेर आलटाल गर्दै आएको छ,’ एनएसीका अर्का अधिकृतले भने, ‘लापरबाहीको पराकाष्ठा नाघ्यो। कम्पनीबाट हाम्रो इन्जिन फेब्रुअरीको अन्तिम सातामा मात्र तयार हुने जानकारी आएको छ।’

जबकि मर्मत संभार सम्पन्न गरी ६५ दिनभित्र बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ। एनएसीले इन्जिन मर्मत गर्न दिएको ११० दिन भइसकेको छ।

एनएसीका प्रवक्ता रमेश पौडेलले पनि मर्मतका लागि इजरायल पठाइएको जहाज तत्काल रिलिज हुने सम्भावना कम रहेको बताए। ‘जहाज मर्मत संभारमा अझै समय लाग्ने देखिएको छ। कति समय जहाज उतै रहन्छ भन्ने टुंगो छैन,’ प्रवक्ता पौडेलले बिजमाण्डूसँग भने, ‘हामीलाई मर्मत संभारको प्रक्रिया जारी छ भन्ने जानकारी आएको छ।’

आईएआईको लापरबाहीमा एनएसी व्यवस्थापनले कुनै कदम नचाल्नुलाई शंकास्पद मानिएको छ। ‘इन्जिन मर्मत हुन नसकेर आधा अर्ब आम्दानी गुमिसक्दा र अझै त्यो भन्दा बढी गुम्ने खालको संकेत आउँदा पनि सम्झौता टर्मिनेट नगरिनुले व्यवस्थापनप्रति शंका उब्जिएको छ,’ ती अधिकृतले भने।

जहाजको दायाँपट्टिको इन्जिन भाडाकै हो। सन् २०२३ सेप्टेम्बर १७ मा जडान गरिएको इन्जिनको भाडा दैनिक २ हजार अमेरिकी डलर तिर्नुपर्छ। बायाँपट्टिको इन्जिन बोरोस्कोप फेल भएपछि जहाज ग्राउण्डेड हुन पुगेको हो। लामो समयसम्म जहाज ग्राउण्डेड एनएसीका लागि सामान्य भइसकेको छ। तर यसले गर्दा एनएसीले व्यापार मात्र होइन, शाख पनि गुमाइरहेको छ।