घर बनाउने उत्तम समय, सबै निर्माण सामग्रीको मूल्य घट्यो, ३ वर्ष अघिभन्दा १५% सस्तो

अनन्तराज न्यौपाने
२०८० मंसिर ८ गते १२:३६ | Nov 24, 2023
घर बनाउने उत्तम समय, सबै निर्माण सामग्रीको मूल्य घट्यो, ३ वर्ष अघिभन्दा १५% सस्तो

विराटनगर। घर बनाउनका लागि अहिले सबैभन्दा उत्तम अवसर छ। निर्माण सामग्रीको मूल्यमा आएको गिरावटका कारण सस्तोमा घर बनाउन सकिन्छ।

Tata
GBIME
Nepal Life

यतिबेला पक्की घर बनाउनेले ३ वर्षअघिको भन्दा १० देखि १५ प्रतिशतसम्म सस्तोमा बनाउन सक्ने इन्जिनियरहरु बताउँछन्। यसअघि घरनिर्माणको लागतमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशतले वृद्धि हुने गरेको थियो। विराटनगरका आर्किटेक्ट इन्जिनियर कृष्णहरि पोखरेलका अनुसार अहिले घर निर्माणको ज्यालामा मात्र वृद्धि भएको छ।

‘इँटा, ढुंगा, गिटी, बालुवा, टायल्स, मार्बल, टीएमटी, सिमेन्ट लगायतका निर्माण सामग्रीको मूल्यमा खासै वृद्धि भएको छैन, बरु धेरैजसो सामग्रीको मूल्य घटेको छ,’ उनले बिजमाण्डूसँग भने, ‘यसका कारण ३ वर्षअघिभन्दा अहिले घरनिर्माण सस्तो परेको हो।’

मारुती सिमेन्टका सञ्चालक अनुज राठीले ओपिसी सिमेन्ट कारखानाबाट प्रति बोरा ५५० देखि ५६० रुपैयाँ विक्री गरिरहेको जानकारी दिए। उद्योगी राठीले भने, ‘अहिलेको उक्त दर १० वर्षअघिको बराबर हो। दश वर्षपहिले पनि यति नै थियो। पाँच वर्षअघि हामीले प्रति बोरा ९ सयमा विक्री गरेका थियौँ। अत्यधिक प्रतिस्पर्धा, ओभर सप्लाई र निर्माणमा आएको मन्दीले ३ वर्षयता सिमेन्टको मूल्य ओरालो लागेको हो।’

उनले आफ्नो उद्योगको दैनिक उत्पादन क्षमता ३ हजार टन भए पनि ७ देखि ८ सय टनमा सीमित भएको बताए। राठीले चार वर्षअघि सिमेन्टको मूल्य प्रति बोरा ९ सयबाट ८५० भएपछि क्रमशः घट्तैघट्तै अहिले ५५० देखि ५६० मा आइपुगेको बताए।

अन्तर्राष्ट्रिय बजारका आधारमा मूल्य घटबढ भइरहने टीएमटी छडको मूल्यमा पनि अहिले राम्रै ह्रास आएको समय छ। व्यवसायीका अनुसार अहिले टीएमटीको मूल्य ३ वर्षअघिको बराबर छ। नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति एवं श्री स्टिलका सञ्चालक राजेश अग्रवालले यति वेला टीएमटीको कारखाना मूल्य भ्याट वाहेक प्रति किलो ७८ देखि ७९ रुपैयाँ रहेको जानकारी दिए।

अग्रवालका अनुसार ३ महिनाअघि यो मूल्य भ्याटवाहेक ९० रुपैयाँ थियो। सिमेन्टको मूल्यमा ह्रास आउनुको मुख्य कारण आन्तरिक उत्पादनमा आवश्यकताभन्दा बढी वृद्धि र तीव्र प्रतिस्पर्धा भएपनि टीएमटीको मूल्यमा यी कारणले खासै महत्त्व राख्तैनन्।

नेपाल उद्योग परिसंघ (सिएनआई) कोशीका प्रवक्ता एवम् स्वस्तिक रोलिङ मिलका सञ्चालक रमेश राठी भन्छन्, ‘संसारभरि नै टीएमटीलगायतका फलामे वस्तुको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्छ। यसका मुख्य कच्चा पदार्थ आइरन ओर र स्क्र्याप हुन्। यसको मूल्यमा दैनिक प्रति किलो १ देखि २ रुपैयाँ घटबढ भइरहेकै हुन्छ। अन्तर्राष्ट्रिय बजारमा आइरन ओर र स्क्र्याप कुनै एकको मूल्यमा किलोमा कम्तीमा ५ रुपैयाँको घटबढ भयो भने संसारैभरि फलामे उत्पादनको मूल्यमा पनि असर पर्छ। अहिलेको मूल्यह्रास पनि अन्तर्राष्ट्रिय कारणकै प्रभावले भएको हो।’

घरका लागि अत्यावश्यक वस्तु इँटाको मूल्यमा पनि ह्रास देखिएको छ।कोशी प्रदेशको सबैभन्दा ठुलो इँटा उद्योग आनन्द इँटा कारखानाका सञ्चालक अशोक अग्रवाल बगडियाले गत वर्ष यति वेला १ नम्बर इँटाको मूल्य प्रति गोटा २२ रुपैयाँ ५० पैसा भएकोमा यस वर्ष घटेर २० रुपैयाँमा आएको छ।

‘मोरङ र सुनसरी जिल्लामा गत वर्ष उत्पादित इँटा नै २५ करोडभन्दा बढीको संख्यामा विक्री नभएर थन्किएका छन्’, उद्यमी बगडियाले भने, ‘यस वर्ष थप इँटा उत्पादन गर्नुको तुक छैन। तैपनि उद्योगीहरू १५ देखि २० प्रतिशत क्षमतामा कारखाना चलाउन खोज्दैछन्।’

उनले थपे, ‘सरकारी निर्माण छैन। प्रदेश सरकारले पनि विकास–निर्माणलाई आक्रामक बनाउन सकेन। पालिकाहरूले नाला र ढलको निर्माणलाई तीव्रता दिए मात्रै पनि इँटा उद्योगहरूले त्राणको अनुभव गर्ने थिए। अर्कातिर व्यक्तिगत घरनिर्माणको गति पनि ६० देखि ७० प्रतिशतले सुस्ताएको छ। यस्ता कारणले इँटाको विक्री स्वात्तै घटेको हो र मूल्य पनि।’

बगडियाको दाबीअनुसार अहिलेको लागत खर्चका आधारमा १ नम्बर इँटाको मूल्य प्रति गोटा २२ रुपैयाँभन्दा बढी हुन्छ। इँटा उद्योगहरूले बिना फाइदा इँटा विक्री गरिरहेका छन्। पक्की संरचनाको निर्माणका लागि अर्को मुख्य सामग्री ढुंगा–गिट्टी–बालुवाको मूल्य ५ वर्षअघिका तुलनामा घटेको र ३ वर्षदेखि स्थिर रहेको व्यवसायीले बताएका छन्।

नेपाल खानी तथा क्रसर व्यवसायी महासंघका केन्द्रीय सदस्य शारदाप्रसाद ढकालका अनुसार ५ वर्षअघि क्रसरको बालुवा विराटनगर डेलिभरी गर्दाको मूल्य प्रति घन मिटर १९ सय ५० देखि २ हजार रुपैयाँसम्म थियो। २०७७ चैतसम्म लगभग यही मूल्य थियो। तर २०७८ लागेसँगै मूल्यमा ह्रास आयो र प्रति घन मिटर १६ सयदेखि १८ सय भयो। अहिले पनि यही मूल्यमा काम भइरहेको छ।

ढुंगाको मूल्य ५ वर्षदेखि एउटै भएको उद्योगी ढकालले बताए। जसअनुसार ५ वर्षअघि एक घन मिटर ढुंगा विराटनगर डेलिभरी गर्दा व्यवसायीले १८ सय ५० देखि २२ सयसम्म लिने गर्थे। हिजोआजको मूल्य पनि यही छ। अहिले यसको मूल्य प्रति घन मिटर २४ सयदेखि २५ सय हुनुपर्ने उनको मत छ।

त्यस्तै सामान्य गिट्टी विराटनगर डेलिभरी गर्दा ५ वर्षअघि प्रति घन मिटर २ हजारदेखि २१ सयसम्म थियो। तीन वर्षअघि यो मूल्यमा ह्रास आयो र १९ सय भयो। अहिले पनि यही छ। फोडुवा गिट्टीको ट्रेन्ड पनि यही छ । पाँच वर्षअघि फोडुवा गिट्टी विराटनगर डेलिभरीको प्रति घन मिटर २२ सयदेखि २३ सय थियो। तर तीन वर्षदेखि अहिलेसम्म २१ सय रुपैयाँमा काम भइरहेको छ।

उद्योगी ढकालले भने, ‘क्रसर उद्योगको मुख्य कच्चा पदार्थ डिजल हो। पाँच वर्षअघिका तुलनामा अहिले डिजलको मूल्य कहाँ पुगेको छ बताइरहनु पर्दैन तर ढुंगा, गिट्टी र बालुवाको मूल्य भने खस्किएको छ। पहिले वैदेशिक रोजगारमा गएकाहरू क्रसर उद्योगमा काम गर्न भनेर फर्किन्थे। क्रसर उद्योग कामदारको आकर्षणको विषय थियो। अहिले कामदार पाउन र पाएपनि टिकाउन ज्यादै मुस्किल भइरहेको छ।’

बाथरुमका सामान, टाइल्स र ग्रेनाइडजस्ता निर्माणसामग्रीको मूल्य पनि यसरी नै खस्किएको छ। विराटनगरको जिन्दल हार्डवेयरका सञ्चालक प्रमोद जिन्दलले २ वर्षअघि भुईंमा लगाउने २ बाई २ को टायल्सको मूल्य प्रति वर्गफिट १ सय रहेकोमा अहिले ८० भएको बताए।

त्यस्तै ग्रेनाइडको मूल्य २ वर्षअघि प्रति वर्ग फिट २५० देखि ३ सय थियो। अहिले २ सयमा विक्री भइरहेको छ। कमोड, बेसिनलगायतका सामग्रीको मूल्य पनि २ वर्षदेखि स्थिर छ। कमोडको मूल्य १२ हजारबाट सुरु हुन्छ। नेपालका बजारमा धेरैजसो १२ देखि ३० हजारसम्मका कमोड विक्री हुन्छन्। कमोडको मूल्य पनि २ वर्षदेखि लगभग स्थिर रहेको जिन्दलको भनाइ छ।
घर बनाउँदाको अत्यावश्यक सामग्री काठको मूल्य पनि घटेको छ।

पूर्वाञ्चल काष्ठ तथा फर्निचर उद्योगका सञ्चालक रामकुमार दाहालले झ्यालढोकाका लागि चाहिने सखुवा काठको मूल्य ३ वर्षअघि प्रति क्युबिक फिट ६५ सयदेखि ७ हजार भएको बताए। अहिले यसको मूल्य ५८ सयदेखि ६ हजार मात्र रहेको उनले जानकारी दिए।

अर्का काष्ठ उद्योगी बाबुराम घिमिरेले पुसको दोस्रो हप्ताभित्रै सखुवा काठको मूल्य प्रति क्युबिक फिट ३५ सयदेखि ४ हजारमा आउने दाबी गरे।घिमिरेले भने, ‘सरकारले व्यक्तिका नम्बरी आवादीमा भएका सखुवाका रुखहरू वन कार्यालयको अनुमतिमा काट्न पाइने नियम बनाउँदैछ। यो नियम लागु हुनेबित्तिकै सखुवालगायत सबै काठको मूल्यमा ठुलो ह्रास आउने निश्चित छ।’