भुक्तानी माग्दै आन्दोलित निर्माण व्यवसायीले प्रधानमन्त्री निवास अगाडि गरे डोजरसहित प्रदर्शन  

बिजमाण्डू
२०८० साउन १६ गते १२:०१ | Aug 1, 2023
भुक्तानी माग्दै आन्दोलित निर्माण व्यवसायीले प्रधानमन्त्री निवास अगाडि गरे डोजरसहित प्रदर्शन  

काठमाडौं। गरेका कामको भुक्तानी लगायत विभिन्न माग राख्‍दै आन्दोलित निर्माण व्यवसायीले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री निवासअगाडि डोजरसहित प्रदर्शन गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा निर्माण व्यवसायी एक सातादेखि आन्दोलनमा छन्।

Tata
GBIME
Nepal Life

सोमबार बानेश्‍वरमा प्रदर्शन गरेका उनीहरु मंगलबार बिहान बालुवाटार पुगेका हुन्। ठेक्का पाएर काम गरेका आयोजनाहरुमा सरकारले भुक्तानी रोकेको उनीहरुले बताएका छन्।

प्रधानमन्त्री निवासअगाडि उनीहरुले डोजरसँगै निर्माण कार्यमा प्रयोग हुने हेभी इक्‍विपमेन्टहरु पनि लिएर प्रदर्शन गरे।

महासंघका अध्यक्ष रवि सिंहले सरकारले आफूहरुले राखेको माग पुरा नगरेसम्म यो आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने चेतावनी दिए। उनले आफूहरुको यो आन्दोलन सरकारले जहिलेसम्म माग पुरा गर्दैन त्यो समयसम्म निरन्तर चलिरहने बताए।

महासंघले देशभरका व्यवसायीलाई काठमाडौंमा बोलाएर धर्नामार्फत सरकारलाई दबाब दिइरहेका छन्। सरकारले निर्माण व्यवसायीहरुको ४० अर्ब भुक्तानी नगरेको उनीहरुको भनाइ छ।

निर्माण व्यवसायीहरूले काम गरेबापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका-२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर लगायत नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरिरहेका छन्।