
काठमाडौं। सत्तारुढ दलहरु बीचको समीकरण फेरबदललाई बजारले रुचाएको थिएन। तर, अर्थमन्त्री नयाँ आउलान् भन्नेमा आशवादी देखिन्थ्यो कारोबार सूचक। तर, प्रतीक्षामा रहेको सेयर बजार अर्थमन्त्रीमा डा. प्रकाशशरण महतको आगमनसँगै घट्न थालेको छ।
यसले महतलाई सेयर बजारले अर्थमन्त्रीको रुपमा पत्याउन नचाहेको हो की भन्ने संकेत गरेको छ। किनभने उनले बजार लक्षित कुनै विशेष योजना सार्वजनिक गरिसकेका छैनन्। उनको आगमन पूर्व १९ सय माथि नै धानिएको सूचक आइतबार भने फराकिलो अंकले घटेर १८ सय ८५ को विन्दुमा सीमित छ।
बजारमा भारी उतारचढाव पनि अनुभव गरिएको छ। झन्डै साढे ४३ अंकले सूचक घटबढ भएको छ।
बाह्य क्षेत्रमा देखिएको सुधार, तरलतामा आएको वृद्धि र ब्याजदर घट्ने संकेतबीच अर्थमन्त्री चुनिँदा सेयर बजार उकालो लाग्ने अधिकांशको अपेक्षा थियो। अर्थमन्त्री महतले शपथ ग्रहण गरेसँगै गभर्नरसँग वान टु वान भेटवार्ता गरेका थिए। जसप्रति सेयर लगानीकर्ता उत्साहित हुने अनुमान थियो।
अर्थमन्त्रालयबाट विष्णु पौडेलको बहिर्गमनपछि मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध पुनः चिसिने लगानीकर्ताको बुझाइ थियो। तर, पहिलो औपचारिक वार्ता नै अर्थमन्त्री महतले गभर्नरसँग गर्दा सम्बन्ध सुध्रिने र त्यसको बजारमा सकारात्मक प्रभाव पर्नेमा लगानीकर्ता आशावादी थिए। अर्थमन्त्री महतले सहकार्य गरेर अघि बढ्न गभर्नरलाई प्रस्ताव पनि गरेका हुन्। तर, यसबीच बजारलाई उत्साह जगाउने घोषणा आइसकेको छैन। जसले गर्दा कारोबारमा शिथिलता देखिएको छ।
लगत्तै उनी निजी क्षेत्रसँग पनि छलफलमा थिए। निजी क्षेत्रका राय सुझावलाई उनले सकारात्मक रुपमा लिए। तरलता र ब्याजदर जस्ता निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने उनको आश्वासन प्रति सुरुवातमा बजारले फराकिलो फड्को मारेको पनि थियो। तर वृद्धि धेरै बेर टिक्न सकेन। किन्नभन्दा बेचेर उम्कनेहरु ह्वात्तै बढेका छन्।
पौडेल अर्थमन्त्री भएपछि सेयर बजार ४२७ अंकसम्म बढेको थियो। तर, उनले राजीनामा दिएयता बजार लगभग १८० अंक घटिसकेको छ। २ हजार ५० हाराहारी रहेको बजार १८ सय ६५ सम्म ओर्लिएको थियो। यो पछिल्लो एक महिनाको अन्तरालमा घटेको हो।
राष्ट्रपति निर्वाचन र माओवादी-कांग्रेसको गठबन्धनलगत्तै कारोबारमा गिरावट झनै तेज भएको बजार गतिविधिले देखाउँछ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत लिँदा बजार दोहोरो अंकले बढेको थियो। अर्कोपट्टी अर्थमन्त्री कांग्रेसबाट बन्ने चर्चालाई सेयर लगानीकर्ताले सकारात्मक रुपमा लिन नसके पनि बजार हरियो हुन सुरु गरिसकेको थियो। घटिहाल्यो भने पनि बजार १९ सय तल आउन मानेको थिएन।
यस दौरान अर्थमन्त्री डा. प्रकाशशरण महत हुने निश्चित भएपछि झन् लगानीकर्ताको मनोबल बढ्ने पक्कापक्की नै भएको थियो। अर्थमन्त्रीको प्रतीक्षाले सेयर बजारको लय निर्धारण गर्न थालेको जानकारहरु तर्क समेत गर्न थालेका थिए।
यद्यपि अर्थमन्त्री महत आएपछि खुलेको पहिलो सेयर कारोबारको प्रतिक्रिया देखेर लगानीकर्ता निराश छन्। यसबीच अवसर देख्नेहरुले सेयर बेचे पनि अर्थमन्त्रीसँगै बजारमा दिगो हरियाली देखिने लगानीकर्ताको विश्वास पुनः निराशामा परिणत भएको हो।