अमेरिकी टार्गेटमा सञ्‍चारमन्त्री रेखा शर्मा, हुवावेलाई हटाउन नमान्दा अर्को मन्त्रालयमा सिफ्ट!

बिजमाण्डू
२०७९ चैत्र १६ गते ११:५२ | Mar 30, 2023
अमेरिकी टार्गेटमा सञ्‍चारमन्त्री रेखा शर्मा, हुवावेलाई हटाउन नमान्दा अर्को मन्त्रालयमा सिफ्ट!


काठमाडौं। नेपालको फाइभजी परियोजनाबाट चिनियाँ कम्पनी हुवावेलाई पन्छाउन नमान्दा सञ्‍चारमन्त्री रेखा शर्माको मन्त्रालय नै फेरिने भएको छ।

Tata
GBIME
Nepal Life

सरकारी स्वामित्वको नेपाल टेलिकमले हुवावेको प्रविधि प्रयोग गरी दूरसंचार सेवा दिइरहेको आएको छ। हुवावेकै प्रविधिमार्फत टेलिकमले फाइभजी परियोजनासमेत अघि बढाउँदै छ। यसप्रति अमेरिका रुष्ट बन्दै आएको छ। अमेरिकी दबाबकै कारण टेलिकमले पूर्वनिर्धारित समयमा फाइभजी परीक्षणलाई औपचारिकरुपमा सुरु गर्नै सकेको छैन।

डेटा सुरक्षामा गम्भीर प्रश्न उठाउँदै चिनियाँ प्रविधि प्रयोग नगर्न चेतावनी दिएपछि टेलिकमको फाइभजी परीक्षण रोकिएको हो। टेलिकमले नेपालमा फाइभजीका लागि चिनियाँ दूरसंचार कम्पनी हुवावेको प्रविधि तथा प्राविधिक प्रयोग गरिरहेको छ।

चिनियाँ कम्पनीको प्रविधिले नेपालको मात्रै नभएर अमेरिकी सूचना पनि बेइजिङ पुग्ने संशय जाहेर गर्दै अमेरिकाले नेपाल टेलिकमलाई पटकपटक फाइभजीबाट चिनियाँ कम्पनी हटाउन अनेक दबाब दिँदै आएको छ।

त्यही दबाबका कारण मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले टेलिकमको सञ्‍चालक समिति अध्यक्ष समेत रहेका सञ्‍चार सचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री कार्यालय तान्ने निर्णय भएको स्रोत बताउँछ। सञ्‍चार सचिवमा मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई ल्याउने निर्णय क्याबिनेटले गरेको छ।

अर्यालको पदावधि अब करिब ३ महिना मात्रै बाँकी छ। तीन महिना मात्रै पदावधि बाँकी रहेका अर्याललाई सरकारले सञ्‍चार मन्त्रालयबाट सरुवा गरेको हो।

किन फेरिँदैछ रेखा शर्माको मन्त्रालय?
गत फागुन ११ गते मन्त्री शर्माले प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले नेपालमा फाइभजी: चुनौती तथा अबको बाटो विषयक कार्यक्रममा बोल्दै चिनियाँ प्रविधि प्रयोग गरेको भन्दै नेपाल टेलिकमको फाइभजी परीक्षण अमेरिकी दबाबमा रोकिएको भन्नु हल्ला मात्रै भएको प्रतिक्रिया दिएका थिइन्। उनले यसअघि यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएकी थिइनन्।

‘के चाइनिज भनेर फाइभजी परीक्षण नगरेको? अथवा अमेरिकाले सहयोग गर्न खोज्दैछ यस्ता खालका बजार हल्ला थुप्रै छन् बजारमा। यस्तो होइन। नेपाललाई के गर्दा फाइभजीबाट फाइदा हुन्छ हामीले त्यही गर्ने हो,’ मन्त्री शर्माले टीजेएफको कार्यक्रममा भनेकी थिइन्, ‘हामीलाई अरु देश कोसँग मिलेर गर्दा फाइदा, कोसँग बेफाइदा भन्ने कुरै छैन। हामीले त्यसमा सोच्दा पनि सोचेका छैनौं। धेरै प्रतिस्पर्धा गराएर राम्रो भन्दा राम्रो प्रविधि भित्र्याउने सरकारको लक्ष्य हो।’

मन्त्री शर्माको यही प्रतिक्रियापछि अमेरिकी अधिकारीहरु उनी प्रति थप सशंकित बनेको स्रोत बताउँछ।

‘अमेरिकाले दिएको दबाबलाई मन्त्री शर्माले मानिनन्। सत्तारुढ दलकै एक नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर शर्मालाई अरु मन्त्रालयमा लैजान दबाब दिएका थिए,’ माओवादीका एक नेताले बिजमाण्डूसँग भने, ‘शर्माले माओवादी नेता कृष्णबहादुर महराको रणनीति अनुसार काम गरेको भन्ने ब्रिफिङ पनि भयो। त्यसले अहिलेको सरकारको समीकरणमा समेत ठुलो प्रभाव पार्छ भनेर दबाब दिएपछि अरु मन्त्रालयमा पठाउन लागिएको रहेछ।’

२०६७ सालमा एक अपरिचित ‘चिनियाँ’बीच भएको भनिएको संवाद टेप प्रकरणका कारणले अमेरिकीहरु महराप्रति अनुदार छन्।

‘चिनियाँ प्रविधि हटाउने बारे अमेरिकीले दिँदै आएको दबाबमा कुनै कमिटमेन्ट गरिनन्। कमिटमेन्ट नगरेपछि नै अमेरिकी दबाबमा सुरुमा सञ्‍चार सचिव फेरियो र अब मन्त्री नै फेर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो।

हुनत सञ्‍चार सचिव अर्याल फाइभजीसम्बन्धी कुनै पनि सार्वजनिक कार्यक्रमहरुमा देखापर्ने गरेका थिएनन्।

चिनियाँ प्रविधि हटाउन लाइन मिनिस्ट्रीमा रहेका पदाधिकारी नै आफू अनुकूल नदेखिएपछि अमेरिकी अधिकारीहरुले सरकार माथि नै मन्त्री र सचिव फेर्न दबाब कायम राखेको स्रोत बताउँछ।

अमेरिकी अधिकारीहरुले विभिन्न माध्यमबाट पटकपटक सरकारी स्वामित्वको नेपाल टेलिकमबाट चिनियाँ कम्पनी हुवावेलाई हटाउन दबाब दिँदै आएको छ।

स्रोतका अनुसार अमेरिकी अधिकारीहरु सञ्‍चार मन्त्रालयमा आफू निकटको मन्त्री ल्याउन प्रयासरत छन्। सत्ता गठबन्धनमा रहेका दलहरु मन्त्रिपरिषद्‍ विस्तारमा छलफलरत छन्। अमेरिका सञ्‍चार मन्त्रालयमा कांग्रेस कै व्यक्ति ल्याउन खोजिरहेको स्रोत बताउँछ।

पटकपटक रोकिएको फाइभजी परीक्षण
नेपाल टेलिकमको फाइभजी परीक्षण सुरु गर्ने काम पटकपटक रोकिँदै आएको छ। सुरुमा टेलिकमले अंग्रेजी नयाँ वर्षको अवसरमा फाइभजी परीक्षण सुरु गर्ने योजना सारेको थियो। तर, विफल भयो। फेरि आफ्नै वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते फाइभजी परीक्षण औपचारिकरुपमा सुरु गर्ने योजना बुनेको थियो। फेरि असफल भयो।

अमेरिकाले चिनियाँ प्रविधि नछोडे ‘रेड लाइन’ मा राख्ने चेतावनी निरन्तर दिएपछि टेलिकमको फाइभजी परीक्षण पटकपटक रोकिँदै आएको छ। वार्षिकोत्सवको अवसरमा पनि अमेरिकी दबाबनै मुख्य कारक रहेको स्रोतले बिजमाण्डूसँग बताएको थियो।
वार्षिकोत्सवमा टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले फाइभजी उपकरणहरुको जडान गरेर आन्तरिक परीक्षण भइरहेको बताएका थिए।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले अहिले काठमाडौंको दुई स्थान सुन्धारा र बबरमहलमा फाइभजी परीक्षण जारी रहेको बताए। यी स्थानहरुमा केही अघिदेखि नै टेलिकमले फाइभजी परीक्षण गरिरहेको उनले बताए। तर, टेलिकमले औपचारिकरुपमा फाइभजी परिक्षण सुरु भयो भनेर अझैसम्म घोषणा वा उपभोक्ताहरुलाई परीक्षणमा सहभागी हुन आह्‍वानसम्म गरेको छैन।

स्रोतका अनुसार अमेरिकी दबाब पछिल्लो समय थप बढेको, सञ्‍चारमन्त्री र सचिवसमेत फेरिने हल्लाले टेलिकमसमेत फाइभजी परीक्षणलाई व्यापकरुपमा अघि बढाउन हच्किरहेको बताउँछ।

चिनियाँ कम्पनी हुवावे टेलिकममा विगत दुई दशकभन्दा बढीदेखि सक्रिय छ। हुवावे नभए टेलिकमले फाइभजी ल्याउने सम्भावना क्षीण भएको समाचार बिजमाण्डूले यसअघि नै प्रकाशित गरिसकेको छ।

यता अमेरिकी दूतावासले भने टेलिकमको फाइभजी परीक्षण रोक्न कुनैपनि प्रयास नगरेको दाबी गर्दै आएको छ। केही समयअघि बिजमाण्डूसँगै कै इमेल कुराकानीमा दूतावासले डेटा सुरक्षाको पूर्वाधार निर्माण गर्दा प्राथमिकता दिन टेलिकम र सरकारलाई प्रोत्साहित गर्ने प्रतिक्रिया दिएको थियो।