संचारमन्त्री रेखा शर्माले भनिन्- ‘एनटीसीको फाइभजी परीक्षण अमेरिकी दबाबमा रोकियो भन्‍नु गलत’

बिजमाण्डू
२०७९ फागुन ११ गते १३:५० | Feb 23, 2023

काठमाडौं। चिनियाँ प्रविधि प्रयोग भएको भन्दै नेपाल टेलिकमको फाइभजी परीक्षण अमेरिकी दबाबमा रोकिएको विषयमा संचारमन्त्री रेखा शर्माले प्रतिक्रिया दिएकी छिन्।

Tata
GBIME
Nepal Life

बिहीबार काठमाडौंमा प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले नेपालमा फाइभजी: चुनौती तथा अबको बाटो विषयक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यो हल्ला मात्रै भएको दाबी गरेकी छिन्।

‘के चाइनिज भनेर फाइभजी परीक्षण नगरेको? अथवा अमेरिकाले सहयोग गर्न खोज्दैछ यस्ता खालका बजार हल्ला थुप्रै छन् बजारमा। यस्तो होइन। नेपाललाई के गर्दा फाइभजीबाट फाइदा हुन्छ हामीले त्यही गर्ने हो,’ मन्त्री शर्माले भनिन्, ‘हामीलाई अरु देश कोसँग मिलेर गर्दा फाइदा, कोसँग बेफाइदा भन्ने कुरै छैन। हामीले त्यसमा सोच्दा पनि सोचेका छैनौं। धेरै प्रतिस्पर्धा गराएर राम्रो भन्दा राम्रो प्रविधि भित्र्याउने सरकारको लक्ष्य हो।’

मन्त्री शर्माले टेलिकम फाइभजी परीक्षणको तयारीमै रहेको बताउँदै यसको लागतलगायतका विषयमा थप अध्ययन गर्दै आवश्यक समीक्षा आवश्यक रहेको बताइन्। नेपालको थिति, अवस्था र आवश्यकता अनुसार फाइभजीलाई विस्तार गर्दै लग्नुपर्ने उनको जोड छ।

मन्त्री शर्माले दूरसंचार सेवा प्रदायकहरुको गुणस्तरमा प्रश्न उठाउँदै फोन नलाग्ने ब्ल्याक स्पटहरुको पहिचान गर्दै सेवा सुधार गर्न सुझाव दिएकी छिन्।

त्यसैगरी, नियामक नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकार तथा नियामकले अपेक्षा गरेअनुसार नेपाल टेलिकमले फाइभजी परीक्षण गर्न नसकेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। आम उपभोक्ताहरुले सोचेजसरी फाइभजी परीक्षण हुन नसकेकोमा गुनासो गरेको भन्दै अध्यक्ष खनालले टेलिकमले परीक्षण भन्दै भित्रको टेस्टिङ जसरी काम गरिरहेको बताए।

‘म अपरेटर (नेपाल टेलिकम) लाई आग्रह गर्न चाहन्छु, नियामकको आशंका अथवा उठाइरहेको मुद्दालाई सम्बोधन गर्दै फाइभजी परीक्षणको दायरा फराकिलो बनाउन आग्रह गर्छु। परीक्षणलाई फराकिलो बनाउनुपर्छ किनभने प्रयोगकर्ताको अनुभव (युजर एक्सपिरियन्स) पनि त परीक्षणको एउटा महत्वपूर्ण पाटो हो,’ खनालले भने।

यस्तै, प्राधिकरणले अपरेटरहरुलाई फाइभजीको युज केसेस् के हुन सक्छ भन्ने विषयमा डेमो गर्ने तयारी गरिरहेको खनालले जानकारी दिए। फाइभजीमा ठूलो लगानी पर्ने भएकाले सोहीअनुसार प्रतिफल फिर्ता आउँछ कि आउँदैन भन्ने विषयमा आफूहरु गम्भीर रहेको भन्दै त्यसको प्रयोग बारे प्राधिकरणले अध्ययनको ड्राफ्ट प्रतिवेदन पाइसकेको बताए। अबको एक दुई महिनामा पूर्ण प्रतिवेदन प्राप्त गर्ने बताइएको छ।

प्राधिकरणले अब सुक्ष्मरुपमा टेलिकम अपरेटरहरुको व्यवस्थापन गर्न सुरु गर्नेसमेत खनालको भनाइ छ।

त्यसैगरी, स्थानीय तह तथा वडासम्म सेवा पुग्यो भनेर सारा नेपालभर सेवा पुग्यो भन्नु गलत भएको खनालको मत छ।

‘स्थानीय तहमा पुग्यो भनेपछि पुग्यो, वडामा पुग्यो भनेपछि पुग्यो भन्ने गरिएको छ। तर, हामीले त प्यान नेपाल भनेको कार्पेट कभरिङको कुरा गरिरहेको हो नि। अबको लाइसेन्सिङमा हामी कार्पेट कभरिङको हिसाबले, जनसंख्याको हिसाबले कुरा गर्छौं। हामीले फोरजी स्पेक्ट्रमको अक्सनको गर्दा देशभर पहुँच हुनुपर्छ भनेका थियौं। तर, माइक्रो स्तरमा पुगेन। अब फाइभजीमा हामी यो पक्ष सुधार्छौं।’