
काठमाडौं। वार्षिकोत्सवको अवसरमा फाइजभी परीक्षण औपचारिकरुपमा सुरु गर्ने नेपाल टेलिकमको योजना दोस्रोपटक विफल भएको छ। आफ्नो वार्षिकोत्सवमा औपचारिक रुपमा फाइभजी परीक्षण गर्ने डेडलाईन तोकेको थियो।
आइतबार वार्षिकोत्सव कार्यक्रममार्फत टेलिकमले काठमाडौंका केही स्थानहरुबाट फाइभजी परीक्षण औपचारिकरुपमा थाल्ने तयारी गरेको थियो। तर, टेलिकमले सो जानकारी वा घोषणा नगरी औपचारिक वार्षिकोत्सव कार्यक्रम सकेको छ।
अमेरिकाले चिनियाँ प्रविधि नछोडे ‘रेड लाइन’ मा राख्ने चेतावनी दिएपछि टेलिकमको फाइभजी परीक्षण रोकिँदै आएको छ। वार्षिकोत्सवको अवसरमा पनि अमेरिकी दबाबनै मुख्य कारक रहेको स्रोत बताउँछ।
डेटा सुरक्षामा गम्भीर प्रश्न उठाउँदै चिनियाँ प्रविधि प्रयोग नगर्न चेतावनी दिएपछि टेलिकमको फाइभजी परीक्षण रोकिँदै आएको हो। टेलिकमले नेपालमा फाइभजीका लागि चिनियाँ दूरसंचार कम्पनी हुवावेको प्रविधि तथा प्राविधिक प्रयोग गरिरहेको छ।
चिनियाँ कम्पनीको प्रविधिले नेपालको मात्रै नभएर अमेरिकी सूचना पनि बेइजिङ पुग्ने संशय जाहेर गर्दै अमेरिकाले नेपाल टेलिकमलाई पटकपटक फाइभजीबाट चिनियाँ कम्पनी हटाउन अनेक दबाब दिँदै आएको छ। त्यही दबाबका कारण पुस १७ गते गर्ने भनिएको फाइभजीको परीक्षण एकाएक रोकिएको थियो।
टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले अझैपनि फाइभजी उपकरणहरुको जडान गरेर आन्तरिक परीक्षण भइरहेको बताए।

‘जीएसएम प्राविधिकरुपमा नै फरक आर्किटेक्चरबाट संचालन हुने भएकाले भविष्यमा फाइभजीलाई व्यवसायिकरुपमा संचालन गर्न कम्पनीमा हाल प्रयोगमा रहेका पूर्वाधार र उपकरणहरु कम्प्याटिबल हुने नहुने, स्तरोन्नति गर्नुपर्ने/नपर्ने, विस्थापन गर्नुपर्ने/नपर्ने विश्लेषणको काम भइरहेको छ,’ पौडेलले भने।
यस्तै, नियामक नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफू टेलिकमले फाइभजी उद्घाटन गर्न अपेक्षासहित वार्षिकोत्सवमा आएको भएपनि त्यसो नहुँदा असन्तुष्टि प्रकट गरे।
उनले फाइभजीको व्यवसायिक तथा उपभोक्ताहरुले त्यसको सदुपयोग कहिलेबाट गर्न पाउँछ भन्नेमा गम्भीर हुन सचेत गराएका छन्।
‘प्रबन्ध निर्देशकज्यूले फाइभजी पनि आज उद्घाटन हुन्छ भनेर भन्नु हुन्छ भन्ने थियो, प्राधिकरणले पनि पटकपटक फाइभजी बारे सोधेको छ। सरकारले परीक्षण गर्न फ्रिक्वेन्सी नि:शुल्क दिएको छ। त्यसको एउटै आशा र सर्त थियो। फाइभजी टेलिकमका प्रयोगकर्ताहरुले पनि उपयोग गर्न पाउँछन् भनेर,’ खनालले भने, ‘के हामी परीक्षण पनि जम्मा दुईवटा बीटीएस टावर राखेर गर्न लागेका हौं?, प्राधिकरणले यो सोचेको होइन, कम्तिमा रिङरोड भित्रको प्रयोगकर्ताले फाइभजी परीक्षणमा समावेश हुँदै तपाईंहरुलाई सुझाव तथा सल्लाह दिन्छ भन्ने अपेक्षा थियो।’

यता संचारमन्त्री रेखा शर्मा र टेलिकम संचालक समितिका अध्यक्ष तथा संचार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले वार्षिकोत्सवको अवसरमा फाइभजीबारे कुनै प्रतिक्रिया दिएनन्।