जगदुल्ला हाइड्रोपावर कम्पनीको सीइओ बन्‍न पाँच आकांक्षी, को कति छन् बलियो ?

बिजमाण्डू
२०७९ फागुन ३० गते १८:२३ | Mar 14, 2023
जगदुल्ला हाइड्रोपावर कम्पनीको सीइओ बन्‍न पाँच आकांक्षी, को कति छन् बलियो ?

काठमाडौं। जगदुल्ला हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि पाँच जनाले आवेदन दिएका छन्।

Tata
GBIME
Nepal Life

१५  दिनभित्र दरखास्त दिन सकिने गरी कम्पनीले निकालेको विज्ञापनमा ५ जनाले आवेदन दिएका हुन्। आइतबारसम्म आवेदन दिनका लागि अन्तिम मिति तोकिएको थियो। आवेदन दिनेहरुमा नरेन्द्र सिंह भण्डारी, संजय सापकोटा, सूर्यप्रकाश पाण्डे, बखतबहादुर शाही र अठोट कर्मचार्य छन्।

सिंह ऊर्जा मन्त्रालयकै रिटायर्ड कर्मचारी (सहसचिव) हुन्। उनले विद्युत विकास विभाग, पञ्चेश्वर आयोजनामा प्रमुख भएर काम गरिसकेका छन्।

सापकोटा कम्पनीले निर्माण गर्न लागेका १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना प्रमुख हुन्। उनले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालिरहेका छन्। ४ वर्षदेखि कम्पनीमा काम गरिरहेका सापकोटा आयोजना बुझेका व्यक्ति हुन्। उनी सीइओका लागि बलिया उम्मेदवार समेत हुन्।

पाण्डे विद्युत उत्पादन कम्पनी मातहतको १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना प्रमुख हुन्। उनी पनि प्रमुख आकांक्षीमध्ये एक हुन्। सीइओको विज्ञापन आउनु अघिदेखि नै लबिङमा छन्।

शाहीसँग निजी क्षेत्रको निलगिरी हाइड्रोपावरमा काम गरेको अनुभव छ। उनी दैलेखका हुन्। कर्णालीमा आयोजना बन्न लागेकाले आफूले पाउनुपर्ने भन्दै लबिङमा  लागेका छन्। कर्माचार्य पूर्वाधार क्षेत्रमा काम गरेका व्यक्ति हुन्।

कम्पनीले निकालेको विज्ञापनमा मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभवसहित पूर्वाधार क्षेत्रको कार्य अनुभव गरी कम्तीमा १२ वर्षको अनुभव हुनुपर्ने उल्लेख छ।

सीइओले पाउने मासिक पारिश्रमिक एवं सुविधा कम्पनीको नियमावली तथा संचालक समितिको निर्णय अनुरुप कार्यसम्पादन करारमा तोकिए बमोजिम हुने कम्पनीले जनाएको छ। यो कम्पनीमा अहिले प्रबन्ध निर्देशकले सीइओको जिम्मेवारीको काम गरिरहेका छन्।

एक वर्षका लागि प्रकाश अधिकारीलाइ प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो। उनको कार्यकाल माघ १४ गते सकिएपछि नियमावली नै संशोधन गरेर एक वर्षका लागि थपिएको थियो। उनलाई कम्पनीको बोर्डले असारभित्र सीइओ नियुक्त गरिसक्ने गरी समय थपेको थियो। सोही आधारमा सीइओको लागि विज्ञापन निकालिएको हो।

यो कम्पनीले डोल्पामा १०६ मेगावाटको हाइड्रोपावर निर्माण गर्न लागेको छ। त्योसँगै ८३ मेगावाटको जगदुल्ला ‘ए’ निर्माण गर्न लागेको छ।