
काठमाडौं। मोबाइल एप हाम्रो पात्रोमा डिजिटल वालेट ‘हाम्रो पे’ पनि थपिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै हाम्रो पात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो।
यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट हाम्रो पे प्रयोग गर्न सक्नेछन्। यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नुनपर्ने कम्पनीले जनाएको छ। एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमै डिजिटल वालेट उपलब्ध भएसँगै एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्ने दाबी कम्पनीको छ।
हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रुपमा हाम्रो पे ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सीइओ शंकर उप्रेतीले बताए।
‘हामी हाम्रो पात्रोलाई सुपर एप बनाउन खोज्दैछौं। प्रयोगकर्ताहरूले हामीलाई दिएको यतिधेरै विश्वासकै कारण हामी एउटै एपमा दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकताहरूलाई समेट्न खोज्दैछौं,’ उनले भने, ‘त्यसैअन्तर्गत हामीले हाम्रो आफ्नै डिजिटल वालेट हाम्रो पे ल्याएका हौं। यसले अनलाइन भुक्तानीलाई हाम्रा एक करोड प्रयोगकर्ता माझ पुर्याउने विश्वास छ।’
खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे), साथीसँग पैसा सापटी माग्ने, लाइभ च्याट सपोर्ट लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न ६ ओटा भाषामा प्रयोग गर्न सकिने बताइएको छ।
नेपाल पेको क्यूआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प छ। अंग्रेजीसँगै नेपाली, नेपालभाषा, मैथिली, थारू र डोटेली भाषामा एप चलाउन सकिन्छ। हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले हाम्रो पेले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउनेमा विश्वस्त रहेको बताए।
‘हाम्रो पेलाई प्रयोगकर्तामाझ पुर्याउन हाम्रा इन्जिनियरहरूको दिनरातको मेहेनतको म कदर गर्छु,’ उनले भने, ‘एक करोडभन्दा बढी प्रयोगकर्ताहरू माझ पुग्ने हाम्रो पेले सबैको विश्वास जित्नेछ भन्ने कुरामा ढुक्क छु।’