
काठमाडौं। साताको पहिलो दिन लगानीकर्ताको सेन्टिमेन्ट बलियो साबित हुँदा सेयर बजारले पुन: उछाल कायम गरेको छ। लगानीकर्ता झुम्मिने क्रम बढेपछि ५ अर्ब रुपैयाँको कारोबार सामान्य हुन थालेको छ।
आइतबार सूचक २१ अंक बढ्दा झन्डै साढे ५ अर्ब रुपैयाँको कारोबार भएको हो। चालु पुँजी कर्जा संशोधनपछि खुलेको यो दोस्रो सेयर कारोबार हो।
सम्पूर्ण माग सम्बोधन नभएपनि निजी क्षेत्र राष्ट्र बैंक आफ्नो निर्णयप्रति लचक भएको भन्दै उत्साहित छ। चालु पुँजी कर्जाका लागि उनीहरुले दुई वर्षको म्याद मागेका थिए। तर राष्ट्र बैंकले ६/६ महिनाको किस्ता तिर्ने व्यवस्था गर्यो।
यस्तै न्यूनतम चालु पुँजी कर्जाको सिीमा पनि एक करोड रुपैयाँ पुर्याएको छ। यसले गर्दा सानो परिमाणमा भएपनि सेयर बजारमा लगानी बढ्ने लगानीकर्ताहरुको आंकलन हो।
तर दिनभर ठाडो लयमा उक्लिँदै गरेको सेयर बजार गभर्नर महाप्रसाद अधिकारीको विचार सार्वजनिक भए लगत्तै ओरालो लाग्न सुरु गरेको थियो। गभर्नर अधिकारीले विश्वव्यापी मन्दीको असर नेपालमा देखिन थालेको बताएका थिए।
अधिकारीले सार्वजनिक मन्तब्य दिए लगत्तै फराकिलो वृद्धि लिएको सेयर बजार साँघुरिन थालेको थियो।