प्राधिकरणले १ अर्ब युनिटभन्दा बढी विद्युत भारत निर्यात गर्‍यो, झण्डै ८ अर्ब रुपैयाँ आम्दानी

बिजमाण्डू
२०७९ असोज २५ गते १८:५० | Oct 11, 2022

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १ अर्ब युनिटभन्दा बढी विद्युत भारत निर्यात गरेको छ।प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो।

Tata
GBIME

मंगलबार अर्थात २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको छ।देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी यो अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो’, उनले भने। निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ। यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ। प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार हुन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक/फरक हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ।