इभी उत्पादक यात्रीमा सिप्रदी ट्रेडिङको प्रवेश, स्कुटर उत्पादन गर्ने योजना

शुक्र गिरी
२०८१ असार १४ गते १७:४३ | Jun 28, 2024
इभी उत्पादक यात्रीमा सिप्रदी ट्रेडिङको प्रवेश, स्कुटर उत्पादन गर्ने योजना

काठमाडौं। नेपाली बाइक उत्पादक कम्पनी यात्रीमा टाटा गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको प्रवेश भएको छ। सिप्रदी ट्रेडिङ बाइकका साथै स्कुटर उत्पादनका लागि लगानी गर्ने गरी यात्रीमा प्रवेश गरेको हो।

Tata
GBIME

सिप्रदी र यात्रीबीच संयुक्त लगानीमा नयाँ कम्पनी खोलेर बाइक उत्पादन गर्ने सम्झौता भएको छ। यस सम्बन्धमा दुई कम्पनीका प्रतिनिधिले शुक्रबार हस्ताक्षर गरेका छन्। तर, दुवै कम्पनीले यो सम्झौताबारे सार्वजनिक गरेका छैनन्।

सिप्रदी ट्रेडिङ र यात्री इनर्जीबीच जोइन्ट भेन्चरमा काम गर्ने गरी सम्झौता भएको स्रोतले बतायो। सम्झौता अनुसार यात्रीले बाइक उत्पादनमा प्राविधिक पक्ष हेर्ने छ भने सिप्रदीले उत्पादन र बजारीकरणको काम गर्नेछ।

‘यात्रीसँग डिजाइनदेखि सबै प्राविधिक सपोर्ट लिएर उत्पादन र बजारीकरणको पाटो भने सिप्रदीले हेर्ने गरी सम्झौता गरिएको हो,’ स्रोतले भन्यो।

जोइन्ट भेन्चर कम्पनीले विद्युतीय स्कुटर पनि उत्पादन गर्नेछ। ‘बजारमा अहिले बाइकभन्दा स्कुटरको माग धेरै छ। त्यसैले हामी स्कुटरलाई प्राथमिकता दिनेछौं,’ स्रोतले भन्यो।

सिप्रदीले कति लगानी गर्ने भन्ने टुंगो लागेको छैन। ‘अहिलेलाई मिलेर काम गर्ने सम्झौता भएको छ। लगानी कति गर्ने भन्ने विस्तृतमा छलफल गर्न बाँकी छ,’ स्रोतले भन्यो।

दुई पाङ्ग्रे सवारीसाधनको बजारमा सिप्रदीको यो पहिलो प्रवेश हो। उसले अहिलेसम्म चार पाङ्ग्रे सवारीसाधन, हेवी इक्वीपमेन्ट, स्पेयर पार्ट्स लगायत बिक्री गर्दै आएको छ।

यात्री सन् २०१७ मा स्थापना भएको कम्पनी हो। कम्पनीले एसेम्बल नभइ नेपालमा नै आफ्नो प्लान्ट लगाएर विद्युतीय बाइक उत्पादन गर्दै आएको छ। कम्पनीले २०१९ मा आफ्नो पहिलो बाइक प्रोजेक्ट जेरो (पी जेरो) सार्वजनिक गरेको थियो। कम्पनीको अर्को बाइक प्रोजेक्ट वन जेनेरसन-२ आउँदै छ। कम्पनीले अहिलेसम्म १०० युनिट मात्र बाइक बिक्री गरेको छ।

कम्पनी बजारमा आफ्नो उपस्थिति बढाउन लामो समयदेखि लगानीको खोजीमा थियो।

सरकारले नेपालमा उत्पादित बाइकलाई दर्ता नगर्दा कम्पनीले झण्डै ४ वर्ष समस्या झेल्नुपरेको थियो। चौतर्फी रुपमा प्रश्न उठेपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले २०८० वैशाखमा दर्ताको व्यवस्था मिलाएका थिए। यात्रीका सबै बाइक अहिले दर्ता छन्।