अर्थतन्त्रमा शिथिलताको असर देखिएन बीमा कम्पनीमा, कसरी बढाए व्यापार?

सुनिल कुँवर
२०८१ असार १४ गते २०:५५ | Jun 28, 2024
अर्थतन्त्रमा शिथिलताको असर देखिएन बीमा कम्पनीमा, कसरी बढाए व्यापार?

काठमाडौं। अर्थतन्त्र शिथिल हुँदा बैंकहरुले ऋण विस्तार गर्न नसकेर मुनाफा गुमाइरहेका बेला इन्स्योरेन्स कम्पनीको व्यवसायमा भने सुधार देखिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष जीवन र निर्जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह देखिएको छ।

Tata
GBIME

पछिल्लो दुई वर्षदेखि बजारमा माग बढ्न नसकेकामा इन्स्योरेन्स कम्पनीहरूको व्यापार भने वृद्धि भएको प्राधिकरणको तथ्यांकले देखाउँछ। चालु आर्थिक वर्ष जेठसम्म २८ वटा जीवन र निर्जीवन बीमा कम्पनीमध्ये २२ वटाले व्यापार बढाएका छन्।

२ जीवन र ४ निर्जीवन बीमा कम्पनीको भने व्यापार घटेको छ। कम्पनीहरूले ११ महिनामा कुल बीमा शुल्क संकलन ५.९६ प्रतिशतले बढाएका छन्।

कम्पनीहरूले पोहोर जेठसम्म १ खर्ब ६० अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकामा यस वर्ष सोही अवधिमा १ खर्ब ७० अर्ब ३२ करोड रुपैयाँ संकलन गरेका छन्।

आर्थिक वर्षको अन्तिम त्रैमास भएको र कम्पनीको पुरानो व्यापारका कारण इन्स्योरेन्स व्यवसायमा ग्रोथ देखिएको बीमकहरु बताउँछन्।

‘गत वर्षभन्दा बीमा व्यवसायमा सुधार हुँदै गएको छ। आर्थिक वर्षको अन्तिम त्रैमास भएका कारण पनि कुल व्यवसायको आधा हिस्सा यसै अवधिमा हुने भएकाले वृद्धि भएको देखिएको हो,’ एक जीवन बीमा कम्पनीका सीइओले भने, ‘कम्पनीहरूको पुरानो बिजनेसले पनि व्यापार बढाउन सपोर्ट गरेको छ।’

जीवन बीमा कम्पनीले कुल बीमा शुल्क संकलन ७.४० प्रतिशतले वृद्धि गरेका छन्। कम्पनीहरूले यो आर्थिक वर्ष ११ महिनामा १ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। ती कम्पनीले पोहोर सोही अवधिमा १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँको व्यापार गरेका थिए।

सबैभन्दा धेरै व्यापार बढाउनेमा एसियन लाइफ इन्स्योरेन्स छ। उक्त कम्पनीले आफ्नो व्यापार १४.९७ प्रतिशतले बढाएको छ। प्रभु महालक्ष्मी लाइफ, आइएमई लाइफ र नेसनल लाइफले पनि १३ प्रतिशतभन्दा धेरै व्यापार बढाएका छन्। व्यवसाय धेरै गर्नेमा नेपाल लाइफ छ। उसले ११ महिनामा ३५ अर्ब ५६ करोडको व्यवसाय गरेको छ।

राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय २४.२८ र सन नेपाल इन्स्योरेन्सको ०.९० प्रतिशतले घटेको छ।

जीवन बीमा कम्पनीहरूले ११ महिनामा २७ अर्ब ७० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्। यो रकम पोहोर जेठको तुलनामा ६.७४ प्रतिशतले धेरै हो।

लामो अवधिदेखिको व्यापारका कारण इन्स्योरेन्स कम्पनीहरूको व्यापारमा वृद्धि भएको देखिए पनि बजारका हिसाबले अहिले पनि बिजनेस सुस्त नै रहेको बीमा क्षेत्रका जानकारहरू बताउँछन्।

‘नोमिनल ग्रोथ ३/४ प्रतिशत मात्रै छ। इन्स्योरेन्समा वास्तविक वृद्धि निकै स्लोडाउन छ,’ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पूर्वसीइओ रमेश कुमार भट्टराईले भने, ‘२०/२५ वर्षदेखि एकुमुलेटेड बिजनेसले कम्पनीहरूको ग्रोथ देखिएको हो।’

यो वर्ष ११ महिनामा निर्जीवन बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन १.०२ प्रतिशतले वृद्धि गरेका छन्। कम्पनीहरूले जेठ मसान्तसम्म ३६ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

राष्ट्रिय बीमा कम्पनीको व्यापार सर्वाधिक ३२.३१ प्रतिशतले घटेको छ। युनाइटेड अजोडको व्यवसायमा २४.१४ प्रतिशतले गिरावट आएको छ।

ओरियन्टल इन्स्योरेन्सले ४०.५६ प्रतिशतले व्यवसाय बढाउँदा शिखर इन्स्योरेन्सले ११ महिनामा सबैभन्दा धेरै ४ अर्ब ८९ करोड रुपैयाँको व्यवसाय विस्तार गरेको छ। शिखर इन्स्योरेन्सको व्यवसाय २.८५ प्रतिशतले मात्र बढेको छ।