नेपाल पूर्वाधार सम्मेलन बिहीबारदेखि, ‘उच्च आर्थिक वृद्धि गर्न पूर्वाधारमा लगानी अनिवार्य’

बिजमाण्डू
२०७९ भदौ २२ गते ०९:१७ | Sep 7, 2022
नेपाल पूर्वाधार सम्मेलन बिहीबारदेखि, ‘उच्च आर्थिक वृद्धि गर्न पूर्वाधारमा लगानी अनिवार्य’

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा चौथो नेपाल पूर्वाधार सम्मेलन बिहीबारदेखि काठमाडौंमा हुँदैछ।

Tata
GBIME

दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ परिसंघले सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ।

पूर्वाधार सम्मेलन-२०२२ मा यातायात, ऊर्जा, सहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरू (एसडीजीएस) हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनामा गहन छलफल हुनेछ।

सम्मेलनको थिम विकासका लागि पूर्वाधार (इन्फ्रास्ट्रक्चर फर ग्रोथ) रहेको छ। सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०७६/७७ मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भयो।

आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भीर अवरोधको सामना गर्नुपर्‍यो। नेपालले आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक वृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अनिवार्य रहेको जनाउँदै सम्मेलनले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्ने विश्वास परिसंघले लिएको जनाएको छ।

सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरण लगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने परिसंघको जिकिर छ।

परिसंघका अनुसार पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोध लगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुनेछ।

सम्मेलनका विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका मेयरहरु, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक, विश्व बैंक, प्राध्यापकहरुको प्रस्तुति रहने परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र परिसंघ आयोजक रहेको सम्मेलनको सह-आयोजकमा लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन्।