राष्ट्र बैंकको हस्तक्षेपपछि घट्न थाल्यो ट्रेजरी बिलको दर, एकैदिन ४२ अर्ब सापटी चलाए बैंकले

बिजमाण्डू
२०७९ साउन ३० गते १८:१३ | Aug 15, 2022

काठमाडौं। नेपाल राष्ट्र बैंकको दुई पटकको हस्तक्षेपपछि ट्रेजरी बिलको ब्याज दर केही तल आएको छ। बैंकहरुले १४ प्रतिशतसम्म ब्याज (बट्ट दर) मागेपछि राष्ट्र बैंकले सरकारले नवीकरण गर्न राखेको ऋणपत्र (ट्रेजरी बिल) आँफैले खरीद गरेको थियो।

Tata
GBIME

राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपैयाँको ऋण नवीकरण गरेको छ। राष्ट्र बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको नवीकरण गरेको हो।

अघिल्लो दुई पटकको भन्दा ब्याज केही कम परेपनि पोहोरको भन्दा भने महँगै छ। पोहोर सस्तोमा सरकारका लागि ऋण उठाइदिएको राष्ट्र बैंकले यसपाली महँगो दिन बाध्य भएको छ। बजार ब्याज दर बढी भएका कारण बैंकहरुले बढी बढी दर माग्न थालेका छन्।

राष्ट्र बैंकले २८ दिने ५०० करोड, ९१ दिने २०० करोड र १८२ दिने ६०० करोड रुपैयाँको ऋणपत्र नवीकरण गरेको हो। यसमध्ये २८ दिनेको औषत बट्ट दार ८.९९ प्रतिशत कायम भएको छ। यसअघि ११.३४ प्रतिशतसम्म पुगेको थियो।

यसैगरी ९१ दिनेको ९.५ प्रतिशत कायम भएको छ। यसअघि १२ प्रतिशतसम्म कायम भएको थियो। यसैगरी १८२ दिने ट्रेजरीको रेट ९.८९ प्रतिशत कायम भएको छ। यसअघि १०.९९ प्रतिशत कायम भएको थियो।

बैंकहरुले सोमबार स्थायी तरलता सुविधा बापत ४१ अर्ब ९४ करोड रुपैयाँ सापटी राष्ट्र बैंकबाट चलाएका छन्। यसको ब्याज दर साढे ८ प्रतिशत छ। थोरै मात्र माथि ट्रेजरी बिलको दर कायम भएको छ।

चालु बर्ष बैंकले कुल ७ खर्ब ८७ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन्। सोमबारसम्मको दायित्व (बक्यौता) एक खर्ब ६३ अर्ब १९ करोड १५ लाख रुपैयाँ कायम भएको छ।