स्टार्टअप सम्मेलन सम्पन्न, मन्त्री बडूले भने- स्टार्टअपलाई चाहिने सहयोग सरकारले गर्छ

बिजमाण्डू
२०७९ साउन ९ गते २०:३९ | Jul 25, 2022
स्टार्टअप सम्मेलन सम्पन्न, मन्त्री बडूले भने- स्टार्टअपलाई चाहिने सहयोग सरकारले गर्छ

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले नवीनतम उद्यम तथा स्टार्टअपलाई प्रवर्द्धन गर्न सरकारका तर्फबाट आवश्यक सम्पूर्ण नीतिगत तथा कार्यगत सहयोगको प्रतिबद्धता जनाएका छन्।

Tata
GBIME
Nepal Life

सोमबार उपत्यकामा आयोजित स्टार्टअप सम्मेलन कन्फेरेन्स अन स्टाब्लिसिङ बिजनेस इन्कुबेटर्स -२०२२ मा बोल्दै उनले भने ‘समग्र स्टार्टअप कार्यक्रम र इनक्युबेसन सेन्टरमार्फत उद्यमीहरूलाई इन्क्युबेट गर्ने, उद्यमशीलताको क्षेत्रमा दौडन सिक्ने र मुलुकको समृद्धिको संवाहक बनाउन सकिने अवधारणालाई लिएर भइरहेको यो कार्यक्रम निकै महत्त्वपूर्ण छ। यस प्रयासको सराहना गर्दै सरकारका तर्फबाट सहकार्यका लागि प्रतिबद्धता व्यक्त गर्छु।’

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा स्टार्टअपको सफलता दरलाई बढाउन इनक्युबेटर अत्यन्त आवश्यक रहेको बताए।

उनले भने, ‘नेपालमा रोजगारी सिर्जना र समृद्धिको सपना पूरा गर्न उद्यमशीलता तथा स्टार्टअपको आवश्यकता छ। तर विश्वभर नै स्टार्टअपको सफलताको रेट निकै कम भएकाले, त्यसलाई बढाउन इनक्युबेटर अत्यन्त आवश्यक हुन्छ। यसको स्थापनाको लागि राज्य, शैक्षिक संस्था तथा बिजनेसहरूको सहकार्य जरुरी हुन्छ।’

नेपालमा स्टार्टअप इकोसिस्टम विकास तथा बलियो बनाउनलाई यसै वर्ष  नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप तथा इन्नोभेसन कमिटी स्थापना गरेको छ। यसअन्तर्गत महासंघले उद्यमशीलताको इकोसिस्टम सुदृढ गर्न ५० व्यवसाय ५० मेन्टर अभियानमार्फत साना तथा मझौला उद्यम तथा स्टार्टअपहरुलाई प्रवर्द्धन गर्दै आएको छ।

बिजनेस इन्क्युबेटर स्थापनासम्बन्धी सम्मेलन  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप इन्नोभेसन कमिटी, पम नेदरल्याण्ड्स, इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) र अन्तरप्रेरणा प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन्। 

स्टार्टअपलक्षित बिजनेस इन्क्युबेटरहरू स्थापनाको चुनौती तथा अवसरहरूलाई केन्द्रमा राखेर सम्पन्न यो सम्मेलन नेपालमा पहिलोपटक भएको हो। यस सम्मेलनले आगामी दिनहरूमा उद्यमशीलताको इकोसिस्टम विकासका लागि थप नयाँ ढोकाहरू खोलेको विश्वास आयोजकहरुको छ।

सम्मेलनमा इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)का रिजनल प्रोग्राम म्यानेजर नन्दकिशोर अग्रवाल, पम नेदरल्याण्ड्सका सीस स्कोनमेकर्स, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडी लगायत पनि उपस्थित थिए। 

सम्मेलनमा स्टार्टअप नेसन २०३० को घोषणापत्र पनि सार्वजनिक गर्दै पम नेदरल्याण्ड्स र उद्योग वाणिज्य महासंघबीच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।

सम्मेलनमा सहभागीहरूले नेपालमा व्यावसायिक इन्क्युबेसन सेन्टरहरू स्थापना गर्नका लागि ठूलो मात्रामा व्यक्तिगत प्रतिबद्धता र आगामी दिनमा आवश्यक पर्ने भावी सहकार्यलाई ध्यानमा राख्दै एक प्रतिज्ञापत्रमा हस्ताक्षर समेत गरेको आयोजकले जानकारी दिएका छन्।