नेपालगञ्ज मेडिकल कलेज चलाउने लर्ड बुद्धको कारोबार करिब साढे एक अर्ब, लिँदैछ एक अर्ब ऋण

बिजमाण्डू
२०७९ असार २० गते १५:५२ | Jul 4, 2022
नेपालगञ्ज मेडिकल कलेज चलाउने लर्ड बुद्धको कारोबार करिब साढे एक अर्ब, लिँदैछ एक अर्ब ऋण


काठमाडौं। नेपालगञ्ज मेडिकल कलेज र नेपालगञ्ज नर्सिङ क्याम्पस संचालन गर्ने लर्ड बुद्ध एजुकेसन एकेडेमी लिमिटेडले सन् २०२१ मा एक अर्ब ४६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। २०२० मा कम्पनीको कारोबार ३.४४ प्रतिशतले ओरालो लागेको भए पनि २०२१ मा ६ प्रतिशतले बढेको  रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले २०२० मा एक अर्ब ३८ करोड १० लाख रुपैयाँ र २०१९ मा एक अर्ब ४३ करोड रुपैयाँको कारोबार गरेको थियो। कलेजले कोहलपुर र नेपालगञ्जमा दुईवटा शिक्षण अस्पताल पनि संचालन गरिरहेको छ। २०२० र २०२१ मा कम्पनीले अस्पतालबाट गर्ने आम्दानी कोरोना महामारीका कारण प्रभावित बनेको थियो। कोरोना उपचारका लागि कोहलपुर अस्पताल प्रयोग गरिएको थियो। 

कम्पनीले २०२१ मा अस्पताल संचालनबाट करिब ५० प्रतिशत आम्दानी गरेको थियो भने मेडिकल कलेजबाट २५.२५ प्रतिशत आम्दानी गरेको थियो।  कोरोनाकै कारण नियमित कक्षा र एमबीबीएस शुल्क घटाइएकाले कम्पनीको कारोबारमा असर परेको केयर रेटिङ्स नेपालले रेटिङ विवरणमा उल्लेख गरेको छ। 

कोहलपुरको अस्पताल ७५० शय्या र नेपालगञ्जको २५० शय्या क्षमताको छ। अहिले कम्पनीसँग करिब सात सय शय्या मात्रै संचालनमा रहेको कम्पनीले जनाएको छ। 

मेडिकल कलेज र नर्सिङ कलेज दुवै काठमाडौं विश्वविद्यालय र सीटीइभीटीबाट सम्बन्धन प्राप्त संस्था हुन्। सन् १९९७ मा कम्पनीले एमबीबीएस पढाई सुरु गरेको थियो। २००० मा आएर कम्पनीले नर्सिङ कार्यक्रम सुरु गरेको थियो। 

२०२० मा एमबीबीएस, एमडी/एमएस र बीएससी (नर्सिङ) मा भर्ना नै रोकिएको थियो। कोरोना महामारीका कारण २०२० मा हुनुपर्ने इन्ट्रान्स परीक्षा २०२१ मा भएको थियो। २०२१ मा भएको इन्ट्रान्स परीक्षामा इनरोल्मेन्ट रेसियो २२ प्रतिशतमा झरेको केयर रेटिङ्स नेपालले जनाएको छ। २०१९ मा इनरोल्मेन्ट ८२ प्रतिशत थियो।

२०२१ मा सरकारले कानूनी कारण देखाउँदै लर्ड बुद्ध एजुकेसनले संचालन गरिरहेको नर्सिङ कार्यक्रम रद्द गरिदिएको थियो। जसका कारण २०२१ मा नर्सिङका विद्यार्थीको भर्ना प्रक्रिया नै हुन सकेन। 

चालु शैक्षिक सत्रमा पनि कोरोना महामारीकै कारण भर्ना प्रक्रिया लम्बिँदा कुनै पनि भर्ना अघि बढ्न नसकेको केयर रेटिङ्‍स नेपालले जनाएको छ। 

कम्पनीले एक अर्ब रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। नौ करोड ६० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि एनपी बी र ९० करोड ४० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ। 

कम्पनीको बोर्डमा आठजना छन्। दिनेश श्रेष्ठ कम्पनीको अध्यक्ष छन् भने डा. सुरेशकुमार कनोडिया प्रबन्ध निर्देशक छन्।