बुक बिल्डिङमा आउँदैछन् कम्पनीहरु, ७ अर्बको कारोबार गर्ने रिलायन्स स्पिनिङ प्रक्रियामा

बिजमाण्डू
२०७९ असार १३ गते ११:५३ | Jun 27, 2022

काठमाडौं। बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपीओ) निष्कासन गर्न अर्को कम्पनी पनि अघि सरेको छ। यस विधिबाट आइपीओ निष्कासनका लागि वास्तविक क्षेत्रको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले प्रक्रिया अघि बढाएको हो।

Tata
GBIME

कम्पनीले सर्वोत्तम सिमेन्टभन्दा एक दिन अघि नेप्सेसँग प्रारम्भिक सम्झौता गरेको थियो।   

हाल कम्पनी १९ लाख २६ हजार कित्ता प्राथमिक सेयर प्रिमियममा निष्कासन गर्ने तयारीमा छ। निष्कासन गरिने कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार कित्ताका लागि योग्य संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन्। बाँकी ११ लाख ५५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने सेयर 'कट अफ' मूल्यको १० प्रतिशत छुट गरी बिक्री गरिनेछ। 

स्रोतका अनुसार कम्पनीले एक कित्ता सेयरबापत ८०० रुपैयाँ अपेक्षा गरेको छ। यद्यपि मूल्य भने निर्धारण भइसकेको छैन। वास्तविक मूल्य निर्धारण गर्न हाल कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ‘रोड सो’ छलफल कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ। 

कम्पनीले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र योग्य संस्थागत लगानीकर्ताहरुको सहभागितामा विवरणपत्र उपर छलफल कार्यक्रम संचालन गर्नेछ। छलफल कार्यक्रममा कम्पनीले पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण उपलब्ध गराउनेछ। 

योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्कनको विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव लगायतका विषयमा छलफल हुनेछ। उक्त बहस कार्यक्रम असार २३ गते काठमाडौंको सोल्टीमोडस्थित ह्यात प्लेसमा दिनको सवा ३ बजेपछि सुरु हुनेछ।

कार्यक्रम समापन भएको पाँच कार्य दिनभित्र योग्य संस्थागत लगानीकर्ताले लिखित रुपमा खरिद गर्न चाहेको न्युनतम कित्ता संख्या, आशय मूल्य तथा मूल्यांकनको आधार सहित विवरणपत्र सम्बन्धमा सुझाव दिनेछन् । यस्तो आशय पत्र कम्तिमा १० वटा योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त हुनु पर्ने प्रावधान छ।  

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट सम्पन्न गरिएको सात कार्य दिन भित्र नेपाल धितोपत्र बोर्डमा संशोधित विवरणपत्र स्वीकृतिका लागि पेस गर्नेछ। सो विवरण पत्र बोर्डबाट स्वीकृत भएको सात कार्य दिनभित्र सार्वजनिक जानकारीका लागि आह्वानपत्र प्रकाशन गरिने व्यवस्था छ । 

बुक बिल्डिङ प्रणालीमार्फत प्राथमिक सेयर निष्कासन गर्न रिलायन्स स्पिनिङ मिल्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग वैशाख १३ गते प्रारम्भिक सम्झौता गरेको थियो। 

रिलायन्स स्पिनिङ मिल्स लिमिटेड सन् १९९४ मा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो। कम्पनीले पलिएस्टर, भिस्कोस, एक्रेलिक/मिश्रित र पोलिस्टर टेक्सचर्ड धागो उत्पादन गर्छ।

नेपालका दुई व्यापारिक घराना गोल्यान ग्रुप र एमएस ग्रुपले संयुक्त लगानीमा यो कम्पनी स्थापना गरेका हुन्। कम्पनी अध्यक्ष पवनकुमार गोल्यान र प्रबन्ध निर्देशक शशीकान्त अग्रवाल छन्।    

कम्पनीको सुनसरीको खनार र दुहबी दुई उत्पादन युनिट छन्। यस्तै, वार्षिक ४० हजार ६८० एमटी उत्पादन क्षमता छ।

कम्पनीको उत्पादन मुख्यतया भारततर्फ निर्यात हुने गरेको छ। कुल उत्पादनको ६१ प्रतिशत भारततर्फ निर्यात हुने गरेको छ। त्यस्तै, १२ प्रतिशत कम्पनीले टर्कीतर्फ निर्यात गर्ने गरेको छ। कम्पनीले वार्षिक ६ देखि ७ अर्ब रुपैयाँ अधिकको कारोबार गर्ने गरेको छ।

२०२१ को अन्त्यसम्म कम्पनीले कुल ७ अर्ब ७९ करोड रुपैयाँको कारोबार गरेको थियो। यसअघि २०१९ मा ७ अर्ब ४२ करोड र २०२० मा कम्पनीले कुल ६ अर्ब २६ करोड रुपैयाँको कारोबार गरेको थियो।