एमालेद्वारा बजेटमा बाहिरियाको संलग्नताबारे छानबिन र अर्थमन्त्रीको राजीनामा माग, संसद अवरुद्ध

बिजमाण्डू
२०७९ जेठ ३१ गते १९:१८ | Jun 14, 2022
एमालेद्वारा बजेटमा बाहिरियाको संलग्नताबारे छानबिन र अर्थमन्त्रीको राजीनामा माग, संसद अवरुद्ध

काठमाडौं। बजेट निर्माणको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ। 

Tata
GBIME

बजेट बनाउँदा अनधिकृत बाहिरी व्यक्तिलाई अर्थमन्त्रीले प्रत्यक्ष संलग्न गराएर करको दर हेरफेर गराएको समाचारमा आएपछि एमालले यो विषयलाई मंगलबार संसदमा चर्कोसँग उठाउँदै अवरोध गरेको हो।

संसद अवरुद्ध गर्दै एमालेले बजेटलाई अन्तिम रुप दिने क्रममा बाहिरी व्यक्तिलाई संलग्न गराएर आर्थिक अध्यादेशमार्फत राजस्वका दरहरु चलाएको विषयमा संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग एमाले सांसदहरुले गरेका छन्। 

साथै, अर्थमन्त्री जनार्दन शर्माले राजीनामा गर्नुपर्ने माग पनि एमाले सांसदहरुले राखेका छन्। 

एमालेका सांसद तथा प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार संसदमा भने, 'बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्‍त्रीको प्रतिनिधि बन्दै अनधिकृत बाहिरी व्यक्ति प्रवेश गरेर खास व्यापारिक घरानालाई फाइदा पुग्ने गरी करका दरहरु हेरफेर गरेको गम्भीर विषय संचारमाध्यमबाट सार्वजनिक भएकाले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। यो राष्ट्रघात र ठूलो वित्तीय अपराध हो। यसबारे संसदीय छानबिन हुनुपर्छ।'

यसका साथै भट्टराईले जेठ १४ गतेको अर्थमन्त्रालयमा बजेट निर्माण भइरहेको स्थानको सीसीटीभी फुटेज समेत सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। 

प्रमुख प्रतिपक्षी एमालेले संसदमा अवरोध गर्दा बैठक संचालन हुन नसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन्।