प्यानिक सेलर्सको सक्रियताले सेयर बजारको लयमा प्रतिकुल असर, सवा अर्ब रुपैयाँको सेयर किनबेच

बिजमाण्डू
२०७९ जेठ २४ गते १५:२८ | Jun 7, 2022

काठमाडौ। अघिल्लो साताको सुरुवाति कारोबारदेखि सेयर बजारमा देखिएको प्यानिक सेलर्सको सक्रियताले सेयर बजारको लयमा निरन्तर प्रतिकुल असर पारेको छ। पछिल्लो आठ कारोबार दिनदेखि लगातार घट्दो क्रममा रहेको सेयर बजारले मंगलबार पनि दोहोरो अंक गुमायो।

Tata
GBIME

आज धितोपत्र कारोबार मापक नेप्से परिसूचकले ४५.५९ अंकको फराकिलो गिरावट लिएको हो। कारोबार बन्द हुँदा परिसूचक २०२०.२३ को विन्दुमा ओर्लिन पुग्यो। पछिल्लो दुई साताको गिरावटलाई मात्र मूल्यांकन गरिन्छ भने परिसूचकले करिब २०३ अंक अधिक गुमाईसकेको छ।   

एका तिर पुँजीबजारका गहन र आवश्यक विषयलाई बजेटले समेट्न नसक्दा लगानीकर्ता निराश छन्। बजेट सार्वजनिक भएपछि बजार निरन्तर घट्दो क्रममा समेत छ। 

अर्को तिर बाह्य क्षेत्र असन्तुलन कायम रहिरहेका कारण राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने विश्लेषण लगानीकर्ताको छ। कसिलो नीतिको त्रासले कमजोर लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक प्रभाव समेत पर्न गएको हो । ब्याजदरका आकार फराकिलो हुनु अगावै बजारबाट उम्किने रणनीतिमा लगानीकर्ता केन्द्रित छन्।    

प्यानिक हुँदै बजारबाट उम्किनेको जमात मगलबारको कारोबारमा थपिएको समेत देखियो। झन्डै साढे २ प्रतिशत घटेको बजारमा बढेको कारोबार रकम र कारोबार मात्राले यसको पुष्टि गर्छ। 

आज सेयर बजारमा एक अर्ब ३१ करोड रुपैयाँको सेयर खरिद बिक्रि भएका छन्। उक्त रकम बराबरको ३८ लाख ८७ हजार कित्ता कारोबारका आए। अघिल्लो दिन परिसूचकले झन्डै १३ अंक गुमाउँदा बजारमा एक अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।   

बजारको तिव्र गिरावटलाई मंगलबार उत्पादन तथा प्रसोधन र प्रभावशाली वाणिज्य बैंक उपसमूह अन्तर्गतका सेयरमा सृजना भएको अत्याधिक सेलिङ्ग प्रेसरले सघाउ पुर्यायो। उत्पादन तथा प्रसोधन उपसमूह आज २. ७४ प्रतिशत घटेको छ। यस्तै, वाणिज्य बैंकको प्रतिनिधि उपसमूह पनि २.७२ प्रतिशत घटेको पाइयो। 

बिक्रेताको नियत्रणमा कारोबार अवधिभर रहेको वाणिज्य बैंकले तिव्र गिरावट लिंदा यस अन्तर्गतको हिमालयन बैंकको सेयर मूल्य नकारात्मक सर्किटका साथ घटेको हो। 

सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि ६ प्रतिशत ओर्लियो। लघुवित्त उपसमूह आफै पनि आज डेढ प्रतिशत अघिक घटेको छ। यद्दपी उपकार लघुवित्तको सेयर मूल्यमा भने क्रेताको आकर्षण कायमै देखिन्छ। लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। 

यस्तै, करिब २ प्रतिशत घटेको जलविद्युत उपसमूहका बाबजुद बलेफी हाइड्रोको सेयरमा पनि सकारात्मक सर्किटले निरन्तरता पायो। 

यता साढे दुई प्रतिशत घटेको विकास बैंकले नारायणी डेभलपमेन्टको सेयरलाई भने नकारात्मक प्रभाव नपारेको देखियो। लगानीकर्ता सेयरमा झुम्मिदा बैंकको सेयर मूल्य ३.७२ प्रतिशत बढ्यो । बैंकले शत प्रतिशत हकप्रद निष्काशन गर्ने भएपछि मूल्यमा वृद्धि आएको हो।