राष्ट्र बैंकको कडाइपछि महिना दिनमै आयात २१ अर्बले घट्यो, बाह्य क्षेत्र पनि हुँदैछ सुधार

बिजमाण्डू
२०७९ जेठ ६ गते १२:४८ | May 20, 2022
राष्ट्र बैंकको कडाइपछि महिना दिनमै आयात २१ अर्बले घट्यो, बाह्य क्षेत्र पनि हुँदैछ सुधार

काठमाडौं। राष्ट्र बैंक र वाणिज्य मन्त्रालयको कडाइपछि आयात निकै घटेको छ। वैैशाखमा कुल आयात १ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको हो।

Tata
GBIME

पछिल्लो महिनाको तुलनामा यो २१ अर्ब रुपैयाँ कम हो। चालु आर्थिक वर्ष आयात १ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँसम्म पुगेको थियो। गत माघमा घटेर १ खर्ब ४८ अर्ब १२ करोडमा आएको थियो।

राष्ट्र बैंकले पुसमा केही वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा शतप्रतिशतसम्म मार्जिन लाउने व्यवस्था गरेपछि माघमा आयात केही कम भएको थियो। तर एक बैंकबाट ऋण लिएर अर्को बैंकबाट एसली खुल्न थालेपछि फागनबाट आयात थप चुलिएर १ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको थियो। चैतमा पनि त्यस्तै प्रवृत्ति देखिएपछि राष्ट्र बैंकले केही वस्तुको आयातमा थप कडाइ गरेको थियो।

राष्ट्र बैंकले मौखिक रुपमा बैंकहरुलाई ३०० भन्दा बढी वस्तुको आयात नगर्न भनेको थियो। खासगरी सुन आयात त्यो बेला बन्द भयो। पछि सरकारले १० वस्तुको आयात चालु वर्षकै लागि बन्द गर्‍यो। यसले गर्दा आयात वैशाखमा घटेको हो।

वैशाखसम्म कुल आयात १६ खर्ब ४ अर्ब पुगेको छ। बीचमा आयात उच्च भएका कारण पोहोरसँग तुलना गर्दा आयात उच्च नै देखिन्छ। यो पोहोरको तुलनामा २७.९५ प्रतिशतले बढी हो।

यो पटक एमएस बिलेट, गहुँ, मोटरसाइकल, चिनी, डीएपी मल, सिमेन्ट क्लिंकर, स्वास्थ्य उपकरण, हातहतियार, सीआर सीट र धानको आयात घटेको छ। यी आयात हुने मुख्य १० वस्तु हुन्। यद्यपि मूल्यका कारण डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको आयात बढेको छ। यसबाहेक कच्चा पाम तेल, भ्याक्सिन, शुद्ध फलाम, एचआर सीट र भटमासको तेलको आयात घटेको छ।

गाडीको आयात यसअघि पेट्रोलियमपछि बढी हुने गरेकोमा यो पटक मुख्य १० वस्तुको सूचीभन्दा बाहिर परेको छ। सुन आयातमा कडाइ गरे पनि त्यो भित्रिन भने कम नभएको भन्सारको तथ्यांकले देखाउँछ।

निर्यात व्यापारमा पनि सुधार भएको छ। निर्यात एक खर्ब ७३ अर्ब पुग्ने र आयात केही कम हुँदा व्यापार घाटा १४ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। निर्यात पोहोरभन्दा ५९.८ प्रतिशतले बढी हो।

आयातबाट सरकारले ४ खर्ब २५ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठाएको छ। पोहरभन्दा यो १४.६४ प्रतिशतले बढी हो।

शोधनान्तर सुधारको संकेत

आयातमा कटौतीसँगै निर्यात व्यापारमा भएको सुधारले यसपटक शोधनान्तर घाटामा केही कमी आउने राष्ट्र बैंकको अपेक्षा छ। वैशाखमा चैतको हाराहारी रेमिटेन्स भित्रिएको छ भने पर्यटन आयमा सुधार भएको छ।

यसबाहेक सरकारले अमेरिका, विश्व बैंकलगायतबाट वैदेशिक ऋण र अनुदान पाएको छ। यसले गर्दा समग्र वैदेशिक मुद्रा सञ्चितिमा सुधार आउने छ। आयात कम भएर चालु खाता घाटा कम हुने र त्यसको प्रत्यक्ष असर शोधनान्तरमा पर्ने भएकाले यसपाली बाह्य क्षेत्रमा सुधारको संकेत देखिने राष्ट्र बैंकको बुझाइ छ।

‘रेमिटेन्स घटेको छैन। पर्यटन आयमा सुधार छ। वैदेशिक ऋण र अनुदान परिचालन भएको छ,’ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिजमाण्डूसँग भने, ‘आयात पनि नियन्त्रण हुँदै गएको छ। यसले बाह्य क्षेत्रलाई सुधार गर्ने छ।’ चैतमा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।