यात्रु माग बढेपछि काठमाडौं-नारिता रुटमा उडान थप्दै निगम, मेभित्रै साताको पाँच उडान, भाडा घट्ने

बिजमाण्डू
२०७९ बैशाख १३ गते १९:३० | Apr 26, 2022
यात्रु माग बढेपछि काठमाडौं-नारिता रुटमा उडान थप्दै निगम, मेभित्रै साताको पाँच उडान, भाडा घट्ने

काठमाडौं। जापानतर्फको उडानमा माग बढेपछि नेपाल वायुसेवा निगमले काठमाडौं-नारिता-काठमाडौं रुटको उडान संख्या बढाउने भएको छ।
निगमले आगामी मे १ बाटै उडान संख्या वृद्धि गर्दै मे अन्तिम साताभित्र यसलाई अहिलेकोबाट साढे दुई गुणाले बढाउन लागेको छ। 

Tata
GBIME

हाल निगमले यस रुटमा साताको दुई उडान गर्दै आएको छ। मे १ ९वैशाख१८० बाट यसमा एक थपेर साताको तीन उडान गर्ने भएको छ। यस्तै, मे अन्तिम साताबाट थप दुईवटा उडान बढाएर सातामा काठमाडौं-नारिता-काठमाडौं पाँच पुर्‍याउने तयारी भएको निगमस्रोतले जानकारी दिएको छ।

दुई वर्षदेखि जापानतर्फ रोजगारी र शिक्षाका लागि प्रक्रिया सुरु गरेर कोभिडका कारण अल्झिएका नेपाली यतिबेला जापान जाने क्रम बढेकाले अहिले काठमाडौं(नारिता उडानमा यात्रु माग उल्लेख्य रुपमा बढेको छ। माग बढेसँगै यो रुटको भाडादर पनि अचाक्ली बढेको छ। यही कारण निगमले निगमले उडान संख्या बढाउने निर्णय गरेको जनाएको छ। 

निगमका अनुसार, यो गन्तव्यमा मे १ बाट आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन दिन उडान हुनेछ।

आइतबार र मंगलबारको उडानमा १ सय ४० जना र शुक्रबारको उडानमा १ सय २० जना यात्रु लान पाइने प्रावधान रहेको निगम प्रवक्ता अर्चना खड्काले बताइन्।

'जहाजको क्षमताभन्दा कममा यात्रु लैजानुपर्ने भएकाले स्वाभाविक रूपमा भाडादर केही वृद्धि हुन गएको छ,' उनले भनिन्। उनका अनुसार यतिखेर निगमको बिजनेस क्लासमा भाडादर प्रतिव्यक्ति १ लाख ५२ हजार र इकोनोमी क्लासमा १ लाख १९ हजार ७ सय रुपैयाँ छ।

यो गन्तव्यमा यात्रु माग धेरै र सेवा कम भएका कारण विभिन्न वायुसेवा कम्पनीले एकतर्फी भाडा नै करिब दुई लाख रुपैयाँसम्म लिँदै आएका छन्।
निगमले साताको पाँच उडान पुर्‍याएपछि भने यो भाडा पनि घट्ने निगमस्रोतको भनाइ छ।