प्रोटोन एक्स ५० सार्वजनिक: मूल्य ७१ लाख ९९ हजारदेखि ८४ लाख ९९ हजार रुपैयाँसम्म

बिजमाण्डू
२०७८ चैत्र ९ गते १६:२२ | Mar 23, 2022
प्रोटोन एक्स ५० सार्वजनिक: मूल्य ७१ लाख ९९ हजारदेखि ८४ लाख ९९ हजार रुपैयाँसम्म

काठमाडौं। मलेसियन गाडी प्रोटोन एक्स-५० बुधबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ। जगदम्बा मोटर्सले मलेसियन गाडी प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी नेपालमा २०२० देखिनै बेच्दै आएको छ। 

Tata
GBIME

नेपालका लागि मलेसियाका राजदूत मोहम्मद फदजल अबु हसन र शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले संयुक्त रुपमा प्रोटोन एक्स ५० गाडी सार्वजनिक गरे।

यो गाडीमा स्ट्यान्डर्ड र प्रिमियम भेरियन्टमा १४७७ सीसीको टर्बो इन्जिन रहेको छ भने फ्ल्यागशीपमा १४७७ सीसीकै टीजीडीआइ इन्जिन रहेको कम्पनीले जनाएको छ।

प्रोटोन एक्स-५० नेपाली बजारमा सबैभन्दा प्रिमियम मिड रेन्ज एसयूभी भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले जानकारी दिए। 

‘अहिलेसम्म यो मिड रेन्जको जत्तिपनि एसयूभीहरु छन् तिनीहरुभन्दा यो निकै प्रिमियम हो। सँगै अरु मिड रेन्ज एसयूभीको तुलनामा यो गाडीमा भएका विशेषताहरु अरु कुनै पनि मिड रेन्ज एसयूभीमा पाउनुहुन्न। नेपालमा पाइने एसयूभीहरुको तुलनामा सुरक्षाका दृष्टिले यो नै सबैभन्दा बढी सुरक्षित हो भन्ने दाबी गर्छु,’ अग्रवालले भने। 

प्रोटोन एक्स ५० मा १.५ लिटर टर्बोचार्ज्ड, थ्री-सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई (डाइरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री-सिलिन्डर पेट्रोल छ। टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कलाई बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

गाडीमा ६ वटा एयरब्याग, इबीएस र बीएसँग एबीएस, अटो हेडलाइट र वाइपरहरू, कीलेस एन्ट्री, अगाडि ढोका ह्यान्डलहरूमा टच सेन्सर रहेको बताइएको छ।

साथै पुस-स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू लगायतका फिचरहरु यो गाडीमा छन्। यसमा सेल्फ-पार्किङ प्रणाली छ, जसले गर्दा पार्किङ स्थलहरूमा सहज बनाउन मद्दत गर्छ। 

प्रोटोन एक्स ५० को न्यूनतम मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तय गरेको छ। तीन नयाँ भेरियन्टमा उपलब्ध हुने स्ट्यान्डर्डको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ, प्रिमियमको ७९ लाख ९९ हजार रुपैयाँ र फ्ल्यागशीपको ८४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।