पारस खड्का प्रिमियर स्टिलको ब्राण्ड एम्बेसडर बने, दैनिक ८ सय टन डन्डी उत्पादन

बिजमाण्डू
२०७८ चैत्र २ गते १४:३८ | Mar 16, 2022

विराटनगर। मोरङको फलामे डन्डी उद्योग प्रिमियर स्टिलले नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

Tata
GBIME
Nepal Life

विगत तीन वर्षदेखि हाइड्रो लगायतका ठूलाठूला प्रोजेक्टका लागि प्राइम बिलेटबाट डन्डी उत्पादन गरिरहेको प्रिमियर स्टिलले पूर्व कप्तान खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको छ। 

‘कन्ट्रयाक्ट साइनिङ इभेन्ट’–मा पूर्व कप्तान खड्का र प्रिमियर स्टिलका प्रबन्ध निर्देशक पवनकुमार शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त अवसरमा खड्काले आफूले क्रिकेटबाट टाढिन चाहेको तर क्रिकेटले नछाडेको बताए। उनले आफूले राष्ट्रिय क्रिकेट टिमको १२ वर्ष नेतृत्व गरेको भन्दै गुणस्तर पाउन निरन्तर मेहनत गर्नुपर्ने धारणा राखे ।

प्रिमियर स्टिलका प्रबन्ध निर्देशक पवन शारडाले शारडा ग्रुप विराटनगरमा विगत ४० वर्षदेखि स्टिल उद्योगमा संलग्न रहेको जानकारी दिए ।

उद्योगी शारडाले आफ्नो ग्रुपले मोरङमा ४० वर्षअघि एभरेस्ट आइरन इन्डस्ट्री स्थापना गरेर पूर्वमै पहिलो डन्डी उद्योग सञ्चालन गरेको स्मरण गराए ।

उनले गुणस्तरमा सम्झौता नगरेकाले अन्य उद्योगका भन्दा प्रिमियरका डन्डी प्रतिकिलो ३ रुपैयाँसम्म महँगो परे पनि उपभोक्ताले  दुई तीन महिनासम्म कुरेर पनि किन्ने गरेको बताए। उनले प्रिमियर स्टिलले अन्तर्राष्ट्रिय गुणस्तरका ५ सय डी डन्डी पनि उत्पादन गरिरहेको  जानकारी दिए। 

प्रिमियर स्टिलका निर्देशक अभिजित सिंहले उद्योगले जापानी प्रविधिबाट दैनिक ८ सय टन डन्डी उत्पादन गरिरहेको उल्लेख गरे ।

निर्देशक सिंहले उद्योगले भारतका जिन्दल स्टिल, टाटा, राष्ट्रिय इस्पात निगम लगायतका स्थानबाट प्राइम बिलेट खरिद गर्ने गरेको जानकारी दिए। उनले ठूलाठूला योजनाहरुमा आफ्नो उद्योगले उत्पादन गरेर आपूर्ति गरिरहेको बताए ।