पप्पुले अलपत्र पारेको तीनकुने पुलको नयाँ ठेक्का अघि बढ्यो, आर्थिक प्रस्तावका लागि ६ कम्पनी छनोट

बिजमाण्डू
२०७८ फागुन ३० गते ११:२० | Mar 14, 2022

काठमाडौं । पप्पु कन्सट्रक्सनले अलपत्र पारेको ७ वर्षपछि तीनकुने पुल निर्माणको नयाँ ठेक्का प्रक्रिया अघि बढेको छ। प्राविधिक मूल्यांकनबाट ६ वटा आर्थिक प्रस्तावका लागि छनोट भएका छन्।

Tata
GBIME

उक्त पुल निर्माणमा लापरवाही गरेपछि काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले पप्पुसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया थालेको हो। आयोजनाका इन्जिनियर वसन्तकुमार गाईका अनुसार नयाँ ठेक्का आह्वानमा ८ वटा निर्माण कम्पनीको आवेदन परेको थियो।

वाइपी किरातेश्वर जेभी, सपना निर्माण सेवा, लुम्बिनी कोटेक जय जेभी, लामा जीएसएचसी जेभी, हिम सगरमाथा कन्सट्रक्सन प्रालि, मृत कन्स्ट्रक्सन, सन्जिवनी कन्स्ट्रक्सन प्रालि र हिमदुङ थोकर गोल्डेन गुड जेभीले आवेदन दिएका थिए। 

यीमध्ये वाइपी किरातेश्वर जेभीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजस्व छलीको मुद्दा परेको खुलेपछि मूल्यांकन प्रक्रिया नै ढिला भएको थियो। 

आयोजनाले तीनकुने पुलको ठेक्का गएको भदौमा नै आह्वान गरेको हो। सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आह्वानको ३५ दिनसम्म आवेदन दिन सकिन्छ भने त्यसको ३५ दिनमा मूल्यांकनको प्रक्रिया सक्नुपर्छ।  

८ वटा निर्माण कम्पनीमध्ये मृत र सन्जिवनी कन्सट्रक्सन प्रालि भने आर्थिक प्रस्ताव छनोटमा परेनन्। आर्थिक प्रस्ताव चैत ७ गते खोलिने आयोजनाले जनाएको छ। आर्थिक प्रस्तावमा पास हुने कम्पनीले डिजाइनका लागि ६ महिनासहित साढे दुई वर्षमा पुल निर्माणको काम सक्नु पर्नेछ।

‘आर्क एन्ड ब्रिज’ विधिमा निर्माण गर्ने भनिएको पुल यसअघि निर्माण ठेक्का पाएको पप्पु कन्सट्रक्सन प्रालिको लापरबाहीका कारण अलपत्र छ। 

आयोजनाविरुद्ध पप्पु सर्वोच्चमा 

ठेक्का तोडिएकामा पप्पुले भने आयोजनाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको छ। रोकछेक नहुन्जेल गरेको कामको मूल्यांकन हुनुपर्ने, बिल भुक्तानी र काम पनि आफैंले गर्न पाउनुपर्ने माग राख्दै अदालत पुगेको हो। 

यो पुलको काम २०७१ मा सुरु भएको थियो। पप्पुले पेस्की लिएर काम थाले पनि पछि लामो समयसम्म ठेक्का होल्ड गरेर राखेको, डिजाइन स्पेसिफिकेसन अनुसार काम नगरेको र त्यस्तो त्रुटिपूर्ण कार्य गरेको भन्दै सच्याउन आयोजना कार्यालयले बारम्बार ताकेता गर्दै आएको थियो। 

ताकेतालाई पप्पुले बेवस्ता गरेको भन्दै आयोजनाले ठेक्का तोडेर नयाँ आह्वान गरेको थियो। पप्पुले क्षतिपूर्ति बापतको ५ करोड ८४ लाख रुपैयाँ तिर्नुपर्ने दाबी आयोजनाको छ। पप्पुले भने आफूले काम गरेबराबरको क्षतिपूर्ति रकम पाउनुपर्ने भन्दै आएको छ।

सडक विभागले २०७१ मा तीनकुने र बिजुलीबजारस्थित पुल एउटै समयमा निर्माण सुरु गराएको थियो। बिजुलीबजारस्थित धोबीखोला पुल दुई वर्षअघि नै सम्पन्न भएर सञ्चालनमा छ। तीनकुने पुल भने निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन। २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनः निर्माण गर्न लागिएको हो।

यसअघि पप्पु कन्सट्रक्सनसँग २१ करोड ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। अहिले ठेक्का आह्वान भएकाले कति रकममा कबोल हुन्छ त्यसैका आधारमा यसको बजेट थाहा हुने इन्जिनियर गाईले बताए। ‘यसअघि पनि पुल निर्माण कम्पनी आफैंले डिजाइन गर्ने (डिजाइन एन्ड बिल्ड) गरी भएको सम्झौता भएकामा अहिले पुनः सोही प्रक्रियाबाट निर्माणमा जान लागिएको हो,’ उनले भने।