नयाँ सारथी लघुवित्त संस्थामा अनियमितता : ३०८ जना सदस्यको नाममा फर्जी ऋण लगानी

बिजमाण्डू
२०७८ पुष २० गते ०९:५५ | Jan 4, 2022
नयाँ सारथी लघुवित्त संस्थामा अनियमितता : ३०८ जना सदस्यको नाममा फर्जी ऋण लगानी

वीरगंज। नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्सागढी नगरपालिका-३ बडनिहारस्थित शाखामा करोडौँको घोटाला भएको तथ्य सार्वजनिक भएको छ।

Tata
GBIME

शाखा घाटामा रहेको तथ्य बाहिरिएपछि प्रधान कार्यालयले सोसम्बन्धि अनुसन्धान शुरू गर्दा आर्थिक अनियमितता भएको तथ्य बाहिरिएको हो।

शाखामा रहेका चार सय जना सदस्यमध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह भएको र त्यसमा शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहितका कर्मचारीहरूको संलग्नता रहेको छ।

शाखा प्रबन्धक लोहार भदौ ४ गते बडनिहार शाखाबाट सरुवा भएर बारा जिल्लाको बरियारपुर शाखामा गएका थिए। उनी गएपछि केन्द्रीय कार्यालयले यसबारे अनुसन्धान गरेको र त्यसले आर्थिक हिनामिना भएको तथ्य सार्वजनिक भएको थियो।

घटना सार्वजनिक भएलगत्तै मंसिर २५ गते शाखा प्रबन्धक ठाकुरलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ठाकुरलाई पक्राउ गरी उच्च अदालतमा हाजिर गराएको र ६० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए।

उनले बैंकिङ ठगी कसुरमा ठाकुरविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको बताए। प्रहरी उपरीक्षक बस्नेतले ठाकुरलाई रौतहटको चन्द्रपुरस्थित उनको घरबाट पक्राउ गरिएको बताए।

प्रारम्भिक अनुसन्धानमा ठाकुरले संस्थाका चार सय सदस्यमध्ये ३०८ जनाको नाममा किर्ते गरी रकम निकासा गरेको देखिएको छ। ३०८ जना सदस्य र खाता बन्द गरिसकेका केही सदस्यहरूको नाममा पनि ऋण प्रवाह भएको देखिएको छ।

यसै घटनामा मुछिएका संस्थाको पर्सागढीका कर्मचारीहरूले भने प्रमुखको दबाबमा आफूहरू संलग्न रहेको बयान दिएका छन्। कति रकम अनियमितता भएको अझैसम्म टुङ्गो लागिनसकेको लघुवित्त स्रोतले जनायो। अनुसन्धान जारी रहेकाले यति नै भनेर अहिले नै यकिन गर्न नसकिएको बताए।