बलम्बुमा प्रस्तावित फ्लाइओभरको मुआब्जामा अलमल, चाहिन्छ १ अर्ब १४ करोड, विनियोजन डेढ करोड मात्रै

बिजमाण्डू
२०७८ मंसिर १५ गते १८:२८ | Dec 1, 2021
बलम्बुमा प्रस्तावित फ्लाइओभरको मुआब्जामा अलमल, चाहिन्छ १ अर्ब १४ करोड, विनियोजन डेढ करोड मात्रै

काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले बलम्बुमा प्रस्ताव गरेको फ्लाइओभरको सिमांकनमा पर्ने घरजग्गाको मुआब्जाका लागि मात्रै १ अर्ब १४ करोड रुपैयाँ लाग्ने भएको छ। 

Tata
GBIME
Nepal Life

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले दररेट निर्धारण गरेको थियो। उक्त दररेट अनुसार १ अर्ब १४ करोड रुपैयाँ लाग्ने देखिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए।

'दररेट तय भएको छ। वितरण सुरु गर्न हामीसँग पैसा छैन। अर्थमन्त्रालयसँग मागेका छौं,' उनले भने, 'केही दिनमै सूचना प्रकाशन गर्छौ।' 

शाक्यका ‍अनुसार चालु वर्षका लागि मुआब्जा वितरण गर्न डेढ करोड रुपैयाँ मात्रै विनियोजन गरिएको छ। तत्काल मुआब्जा वितरण सुरु गर्न सडक विभागसँग रहेको अन्य आयोजनाको ३० करोड रुपैयाँ रकमान्तर गर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाइएको शाक्यले बताए।

बाँकी रकम अर्थसँग स्रोत सुनिश्चितता माग्न लागिएको छ। आयोजनाको सिमांकनमा पर्ने १२ रोपनी जग्गा, पक्की र टहरा गरि ५७ वटा घर भत्काउनुपर्ने देखिएको छ।

शाक्यका अनुसार फ्लाइओभर पृथ्वी राजमार्गको सेन्ट्रल दुई लेनबाट निर्माण हुनेछ। चार लेन राजमार्गको मुख्य दुई लेन फ्लाइओभरका लागि प्रयोग हुने भएका कारण आयोजनाले जग्गा अधिग्रहण गरेर दुई लेन सडक बनाइदिन लागेको हो। राजमार्गबाट सुरुङमार्गको काठमाडौंतिर बन्ने पोर्टलसम्म जानका लागि फ्लाइओभर निर्माण गर्न लागिएको हो। जसको डिजाइन तयार भइसकेको छ।

राजमार्गबाट सुरुङमार्गतिर मोडिदा जाम हुन सक्ने भन्दै फ्लाइओभर निर्माण गर्न लागिएको हो। प्रस्थावित दुई लेनको फ्लाइओभर १२८ मिटरको लामो हुनेछ।

एउटा लेन ३.५ मिटरको हुनेछ। १२८ मिटर फ्लाइओभरबाट करिब तीन किमि पहुँच (एक्सेस) सडक मार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिन्छ। अहिले पहुँचमार्ग निर्माण भइरहेको छ। निर्माण सुरु गरेको ८ महिनामा फ्लाइओभर निर्माण पुरा हुने दाबी गरिएको छ। 'मुख्य समस्या भनेको जग्गा अधिग्रहण र त्यसका लागि आवश्यक रकम नै हो। जग्गा एकीकरण भए ८ महिनामा फ्लाइओभर नै संचालन गर्न सकिन्छ,' शाक्यले भने।

शाक्यको दाबी अनुसार काम भए प्रस्तावित संरचना सवारीसाधन संचालन हुने पहिलो फ्लाइओभर हुनेछ। अहिलेसम्म नेपालमा सवारीसाधन संचालन हुने फ्लाइओभर निर्माण भएको छैन। सडक विभाग मातहतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले उपत्यकाका चार र बाहिर तीन स्थानमा फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ। 

उपत्यकामा निर्माण गर्ने योजना बनाएको चारमध्ये तीनको बेसलाइन सर्भे नै भइसकेको छ। चक्रपथको पहिलो खण्ड (कोटेश्वर-कलंकी १० किलोमिटर) मा चारवटै फ्लाइओभर निर्माण गर्न लागेको हो। पहिलो चरणमा ग्वार्को चोकमा निर्माण हुने फ्लाइओभरको असार २५ गते नै बोलपत्र आह्वान भइसकेको छ।

अहिले प्राविधिक मूल्यांकन चलिरहेको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनिर सौरभ बज्राचार्यले बताए। उनका अनुसार करिब १० दिनमा प्राविधिक प्रस्तावमाथि मूल्यांकन हुनेछ। दुई वर्षमा निर्माण सक्ने गरी इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्न लागिएको छ। चक्रपथको मुख्य दुई लेनमा निर्माण हुने यो फ्लाइओभर  ४५५ मिटर लम्बाइको हुनेछ।

एकान्तकुना र बालकुमारी निर्माण गर्ने भनिएको फ्लाइओभरको बिडिङ डकुमेन्ट तयार भइरहेको बज्राचार्यले बताए। उनका अनुसार चक्रपथको करिब ६ किमि खण्डमा तीनवटै फ्लाइओभर निर्माण गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भन्दै छलफल चलिरहेको छ।

'हामी छलफलमा नै छौं। यदि अघि बढ्ने निर्णय भए अर्थबाट स्रोत सुनिश्चितता लिएर ठेक्का आह्वान हुनेछ,' उनले भने। बल्खुचोकमा भने चालु वर्ष अध्ययन गर्ने योजना छ। उपत्यका बाहिरका तीन स्थानमा अध्ययन गर्ने कार्यक्रम छ।

नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य ठेकेदार कम्पनी हाज्मा-आन्दो कर्पोरेशन लिमिटेडले नै बलम्बुको फ्लाइओभर निर्माण गर्नेछ। आयोजनाको ठेक्काभित्रै रहेकाले उसैले निर्माण गर्ने शाक्यले बताए। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा यो आयोजना निर्माण भइरहेको छ। कुल लागतमध्ये १६ अर्ब रुपैयाँ जापान सरकार र ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने सहमति छ।

आयोजनाको करिब २३ प्रतिशत काम सकिएको छ। अहिले फुल फ्लेजमा २४ सै घण्टा काम चलिरहेको शाक्यले बताए। चन्द्रागिरी नगरपालिकाको टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा निस्कनेछ। जसको लम्बाइ २.७ किमि हुनेछ।