भारतकै पहिलो सेल्फमेड बिलेनियर महिला फाल्गुनी, बैंक छोडेर थालेको स्टार्टअपले बनायो अर्बपति

बिजमाण्डू
२०७८ कात्तिक २५ गते १६:३३ | Nov 11, 2021
भारतकै पहिलो सेल्फमेड बिलेनियर महिला फाल्गुनी, बैंक छोडेर थालेको स्टार्टअपले बनायो अर्बपति

नायिका शब्दको अर्थ हो हिरोइन, अनि त्यस्ती महिला जो सबैको नजरमा पर्छन्, चर्चामा रहन्छन्। बुधबारदेखि भारतमा आफ्नो कम्पनीको नाम अनुसारकै स्पटलाइटमा रहिरहेकी छन् सबैभन्दा धनाढ्य 'सेल्फ मेड' अर्बपति महिला फाल्गुनी नायर। फाल्गुनीको सौन्दर्य प्रशाधन बेच्ने स्टार्टअप 'नायका'ले बुधबार सेयर बजारमा लिस्टिङ हुँदा रेकर्ड राख्दै उनलाई डलर अर्बपतिको सूचीमा उभ्याउन सफल भयो।  

Tata
GBIME
Nepal Life

सौन्दर्यको संसारमा मेकअप एक शक्तिशाली औजार मानिन्छ। यसले महिलाहरुको सुन्दरताका निम्ति शक्तिकै रुपमा काम गरिरहेको छ। सौन्दर्य प्रशाधन बेच्ने कम्पनी चलाइरहेकी फाल्गुनी नायर मेकअप प्रोडक्ट बेचेरै अर्बपति बनेकी हुन्। बिभिन्न मेकअप ब्राण्डको अनलाइन व्यापार गर्ने फाल्गुनीको एफएसएन इ-कमर्स भेन्चर्सले बुधबार भारतीय सेयर बजारमा धमाकेदार इन्ट्री मार्‍यो।  

मुम्बई बेस्ड फर्म, जसले भारतकै सबैभन्दा ठूलो कस्मेटिक्सको व्यापार गर्ने स्टार्टअप 'नायका' संचालन गर्छ, उक्त कम्पनी भारतीय स्टक एक्सचेन्जमा ट्रेडिङ सुरु गर्दा जारी मूल्य ११ सय २५ रुपैयाँ थियो। तर जब कारोबार सुरु भयो उसको सेयरले ८० प्रतिशतसम्मको प्रिमियम भ्यालुमा कारोबार भयो। यसबाट कम्पनीको बजार पुँजीकरण १ लाख करोड भारुभन्दा माथि पुग्यो। 

नायकाकी संस्थापक तथा सीइओ फाल्गुनी नायर एक इन्भेष्टमेन्ट बैंकर थिइन्, जो कोटक महिन्द्रा बैंकको जागिर छाडेर ९ वर्षअघि मात्र उद्यमीका रूपमा सौन्दर्य बजार छिरेकी हुन्। यो लिस्टिङपछि उनी साढे ६ अर्ब डलरको ब्यक्तिगत सम्पत्तीका साथ भारतकै टप सेल्फ मेड बिलेनियर महिला बनेकी छन्। 

भारतका सबैजसो युनिकर्न कम्पनीहरु पुरुषले नेतृत्व गरेका छन्। भारतमा ७० भन्दा बढी युनिकर्न कम्पनीहरु छन् जसमध्ये महिलाले नेतृत्व गरेको १ अर्ब डलर माथिको कम्पनी एकमात्र हो जुन फाल्गुनीले लिड गरिरहेकी छन्। 

हाल आइपीओ जारी गरिरहेका कम्पनीहरुमा पनि टप पोजिसनमा महिलाहरु भए पनि ती महिलाहरु समूहको हिस्साका रूपमा मात्र छन्, जहाँ वर्चस्व पुरुषहरुकै छ।

तर फाल्गुनी यस्ती महिला हुन् जसको कम्पनीमा ५० प्रतिशतभन्दा बढी सेयर छ र उनकै नेतृत्वमा कम्पनी अघि बढिरहेको छ। उनीले सुरु गरेको यही कम्पनीले उनलाई  भारतकै सबैभन्दा धनाढ्य 'सेल्फ मेड बिलेनियर'को दर्जा समेत दिएको छ।  

नायकाले हालै बीएसई र एनएसईमा भएको लिस्टिङपछि बजार पुँजी १ लाख करोड भारु काटेको छ। एनएसईमा मार्केट डेब्युमै कम्पनीको सेयर ७९ प्रतिशतले वृद्धि भएको थियो। बजार खुल्दा कम्पनीको सेयर आइपीओ प्राइस ११२५ भन्दा बढेर प्रिमियममा २०१८ भारु मा कारोबार भएको थियो। 

यस्तै बीएसईमा कम्पनीको सेयर मूल्य जारी मूल्यको ८९.२४ प्रतिशतले बढ्दै २१ सय २९ भारुसम्म पनि पुगेको थियो। 
सेयर बजारमा ब्लकबस्टर डेब्यु गरेपछि फाल्गुनीको सम्पत्तिमा पनि वृद्धि भएको छ। बिलियन डलरको उक्त कम्पनीमा फाल्गुनी नायरका परिवारहरु नै प्रमोटरका रूपमा छन्। 

कम्पनीमा उनको परिवारको कुल ५०.५ प्रतिशत सेयर छ। 

'मैले सधैं भन्दै आएको छु की यहाँ कुनै पनि ग्लास सिलिङ छैन। मलाई लाग्दैन कि पुरुषहरु महिलाहरुलाई उनीहरुले चाहेको काम गर्नबाट रोकिरहेका छन्। महिलाहरुले नै आफूले चाहेको काम गर्न अघि बढ्ने हो। जे उनीहरुले चाहेका हुन्छन् त्यो उनीहरुले प्राप्त गर्न सक्ने अवस्थाबाट कसैले पनि रोक्न सक्ने छैन,' कम्पनीको लिस्टिङपछि उनले भनिन्।  

कम्पनीमा पनि ४७ प्रतिशत कर्मचारी महिला रहेको उनले बताइन्। 

फाल्गुनी भन्छिन्- 'जतिबेला मैले एमबीए गर्दै थिएँ, त्यसबेला हाम्रो कक्षामा डेढ सय विद्यार्थीमध्ये जम्मा ९ जना महिला थिए। पढ्दापढ्दै बीचमै छोड्नेहरु महिलाहरु पनि थिए। तर अहिले त्यो अवस्था छैन। नयाँ पुस्ताका महिलाहरुले संघर्ष गर्न डराएका छैनन्। हो व्यक्तिगत जीवन र कार्यस्थलको जीवन, दुई किसिमको जीवनमा तालमेल गर्न उनीहरुलाई गाह्रो परिरहेको हुन्छ तर पनि उनीहरुले निरन्तरता दिइरहेका छन्, यो सुखद पक्ष हो।' 

सुरुवाती अवस्थामा कम्पनीलाई फाल्गुनी र उनका श्रीमान संजय नायरले व्यक्तिगत रकमबाटै कम्पनी संचालन गरे। दुई वर्षसम्म आफ्नै मात्र लगानीमा उनीहरुले कम्पनी चलाए। जब कम्पनीले राम्रो व्यापार गर्न थाल्यो, अनि मात्र उनीहरु लगानीकर्ताहरु खोज्न थाले। दुवैजना पूर्व बैंकर भएकाले उनीहरुको पहुँच लगानीकर्ताहरुसम्म राम्रो थियो। 

सन् २०२० मा उनीहरुको कम्पनी युनिकर्न कम्पनी बनिसकेको थियो, जतिबेलासम्म उनीहरुले आफ्नो सुरुवाती पुँजीबाहेक पनि चार पटक लगानीकर्ताहरुबाट पैसा उठाइसकेका थिए। 

४२ लाखको सुरुवाती पुँजीबाट व्यवसाय सुरु गरेका उनीहरुले पटक पटक सेयर हिस्सा बेचेर कम्पनीका लागि लगानी जुटाएका थिए। पहिलो चरणमा २० करोड, दोस्रो चरणमा ५९.६ करोड, तेस्रो चरणमा १०० करोड र चौथो चरणमा १६६.६ करोड रुपैयाँ लगानीकर्ताबाट उठाएका थिए। यो सबै रकम उनीहरुले कम्पनीका निम्ति रणनीतिक हिसाबले प्रयोग गरे, जसबाट उनीहरुले सफलता पाउँदै गए। 

उनले ९ वर्षअघि अन्य टेक स्टार्टअप्सभन्दा पृथक रुपमा नायका प्लाटफर्म सुरु गरेकी थिइन्। ब्युटी तथा पर्सनल केयरका लागि नायकाले प्राइमरी एप संचालन गर्छ। यस्तै नायका फेसन पनि छ, जसमार्फत फेसनसँग सम्बन्धित सामाग्रीहरु बिक्री हुन्छ। कम्पनीको एप्समा रिटेल स्टोरहरुबाट ४ हजारभन्दा बढी ब्यूटी तथा पर्सनल केयर तथा फेसन ब्राण्डहरु जोडिएका छन्। कम्पनीले भारतमा अग्रणी ब्युटी रिटेलरका रुपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। कम्पनीको आफ्नै निजी लेबलसहित बिभिन्न १५ सयभन्दा बढी सौन्दर्य प्रशाधन उत्पादन ब्राण्डहरु जोडिएका छन्।  

आजको दिनमा नायका केही मुनाफादायक कम्पनीहरुको सूचीमा अग्रपंक्तिमै परेको छ। गत मार्चमा कम्पनीले खुद नाफा ६१.९६ करोड भारु भएको जनाएको छ। वित्तीय वर्ष २०२१ मा कम्पनीको रेभेन्यू ३८ प्रतिशतले बढेको छ। 

हाल भारतका ३० वटा शहरमा कम्पनीका ७० वटा स्टोरहरु फैलिएका छन्। कम्पनीले ब्युटी प्रोडक्ट्सबाहेक पनि व्यापार विविधिकरण गर्दै फेसन बिजनेसमा पनि बिस्तार गर्दै गएको छ। कम्पनीको फेसन बिजनेस समग्र बिक्रीको २० प्रतिशत छ। गत अगस्टसम्मको तथ्यांक अनुसार नायका एप ५ करोड ५८ लाख पटक डाउनलोड भइसकेको छ। 

कम्पनीको लिस्टिङपछिको कार्यक्रममा फाल्गुनीले भनिन्।– 'मैले ५० वर्षको उमेरमा कुनै पनि व्यापारको अनुभव बिना नै 'नायका' स्टार्टअप सुरु गरेकी थिएँ। मलाई आशा छ 'नायका'को यो सफलताले तपाईहरु सबैलाई आफ्नो जीवनको नायक/नायिका बन्न प्रेरित गर्नेछ।'