वीरगंज यातायात कार्यालयले परीक्षणकालीन लाइसेन्स बाँड्दै, ५० हजार लाइसेन्स प्रिन्ट गर्नै बाँकी

बिजमाण्डू
२०७८ कात्तिक १० गते ०९:२२ | Oct 27, 2021

वीरगंज। प्रदेश २ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंजले परीक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरु गरेको छ ।

Tata
GBIME

लिखित र प्रयोगात्मक परीक्षा पास गरेकाहरुलाई गत असोज १० देखि रसिद काटेको केही मिनेटमै परीक्षणकालीन चालक अनुमतिपत्र वितरण गरिरहेको कार्यालय प्रमुख सुशीलकुमार साहले जानकारी दिए।

हालसम्म २ सय ४० जनालाई कार्यालयबाटै एक वर्ष म्याद रहने परीक्षणकालीन अनुमतिपत्र वितरण गरिसकेको र बाँकी आवेदकलाई लाइसेन्स वितरण गर्ने कार्य भइरहेको कार्यालय प्रमुख साहले बताए।

यसअघि ट्रायल परीक्षा पास गरेका, प्रतिलिपी लिन खोजेका वा नवीकरण गराउने सेवाग्राहीले एक वर्षसम्म लाइसेन्स नपाउने समस्या हल गर्न नेपाल सरकारले यस्तो प्रणाली लागु गरेको हो।

अहिले काठमाडौं जिल्लामा २, ललितपुरमा १, भक्तपुरमा १ कार्यालय गरी राजधानीमा ४ कार्यालयबाट परीक्षणकालीन चालक अनुमतिपत्र प्रिन्ट गरी दिइने गरिएको छ। 

प्रदेश १ को इटहरी र बिर्तामोड, प्रदेश २ को लहान, जनकपुर, बर्दिबास र वीरगंज, गण्डकीको बागलुङ,पोखरा र कावासोती, लुम्बिनीको बुटवल र नेपालगन्ज तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको यातायात कार्यालयहरुबाट प्रिन्टर राखेर परीक्षणकालीन चालक अनुमतिपत्र प्रिन्ट गरी दिने गरिएको जनाइएको छ ।

कोरोना महामारीको कारण विगत दुई वर्षदेखि लाइसेन्स वितरण सेवा प्रभावित छ। यातायात व्यवस्था कार्यालय वीरगंजले यातायात व्यवस्था विभागलाई १ लाख ८० हजार ९ सय ६३ जनाको लाइसेन्स प्रिन्ट गर्न अनुरोध गरेकोमा ४९ हजार १ सय ७३ जनाको लाइसेन्स प्रिन्ट गर्न नै बाँकी छ।

प्रिन्ट भएको मध्ये पनि करिब १५ हजार लाइसेन्स कार्यालयले बाँडिरहेको बुझिएको छ। लामो समयसम्म लाइसेन्स प्रिन्ट नहुँदा लाइसेन्स पास गरेर पनि पटक पटक कार्यालयमा धाइराख्ने समस्या यथावत रहेको छ।

ट्रायल आउन ६ महिना लाग्ने

यातायात व्यवस्था विभागले कात्तिक ८ गते रातिदेखि अनलाइन लाइसेन्स भर्ने प्रक्रिया शुरु गरेको छ। कोरोना संक्रमणको दर घट्दै गएपछि विभागले लाइसेन्सका लागि फाराम भर्न खुला गरिएको हो।

विभागको साइटमा गएर नयाँ वा थप वर्ग, कुन कार्यालयबाट लाइसेन्स आवेदन गरिएको तथा आफनो व्यक्तिगत विवरण र कागजात पेश गरेपछि सम्पर्क मितिसहितको जानकारी पत्र पाइन्छ।

सोही अनुसार सम्बन्धित कार्यालयमा उक्त मितिमा गएपछि बायोमेट्रिक स्वास्थ्य परीक्षणपछि लिखित र ट्रायल परीक्षा हुने व्यवस्था छ। ट्रायल परीक्षा पास गरेपछि वर्ग अनुसारको रसिद काटेपछि सोही दिन परीक्षणकालीन र एक वर्षपछि वास्तविक लाइसेन्स वितरण गर्ने विभागको लक्ष्य छ।