ब्याजदर वृद्धिको असर सेयर बजारमा, करिब ७० अंकले घट्यो बजार सूचक, कारोबार तीन अर्बभन्दा कमको

बिजमाण्डू
२०७८ कात्तिक १ गते १६:०३ | Oct 18, 2021
ब्याजदर वृद्धिको असर सेयर बजारमा, करिब ७० अंकले घट्यो बजार सूचक, कारोबार तीन अर्बभन्दा कमको

काठमाडौं। सोमबार सेयर बजार ६९.५१ अंकले ओरालो लागेको छ। कात्तिक १ बाट बैंकहरुले ब्याजदर बढाएपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ। 

Tata
GBIME

सोमबार चार कम्पनीको सेयर मूल्य बढेपनि बाँकी १८२ कम्पनीहरुको भने घटेको छ। ट्रेडिङबाहेक अन्य सबै उपसूचक घटेको छ। ट्रेडिङ १८.९४ अंकले उकालो लाग्दा सबैभन्दा बढी ४२७.०७ अंकले निर्जीवन बीमा कम्पनी समूहको उपसूचक घटेको छ। यस्तै जीवन बीमा ३५८.०१, उत्पादन १७६.९६, विकास बैंक १६६.९५ अंकले घटेको छ। 

आइतबार करिब साढे एक अर्ब रुपैयाँमा सीमित भएको कारोबार रकम सोमबार भने उकालो लागेको छ। सोमबार १८६ कम्पनीहरुको सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। 

सोमबार महालक्ष्मी विकास बैंक, सानिमा इक्विटी फण्ड, साल्ट ट्रेडिङलगायतका कम्पनीहरुको सेयर बढेको छ। घलेम्दी हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर, कालिका पावर, युनिभर्सल पावर, वरुण हाइड्रोलगायतका कम्पनीहरुको भने सेयर मूल्यमा गिरावट आएको छ। घलेम्दीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। 

सोमबार सबैभन्दा धेरै नबिल बैंक, सानिमा बैंक, हिमालयन डिस्टिलरी, अपि पावर, नेपाल बैंकको सेयर बढी किनबेच भएको छ।  

बैंकहरुबीचको ब्याज प्रतिस्पर्धाको असर सेयरबजारमा

वित्तीय प्रणालीमा तरलताको चरम संकट गहिरिएसँगै निक्षेप आकर्षित गर्न बैंकहरुले धमाधम ब्याज दर बढाउन थालेपछि यसले बैंकहरुको कष्ट अफ फन्डमा पनि चाप पर्ने स्वाभाविक छ। यसलाई कभर गर्नका लागि बैंकहरुले कर्जा/लगानीको ब्याजदर समेत वृद्धि गर्ने हुँदा बैं‌कबाट कर्जा लिएर सेयरमा हाल्ने लगानीकर्तालाई पनि यसले असर गर्नेछ।

महँगो कर्जाले ट्रेडिङ गर्न खोज्ने लगानीकर्तालाई घटिरहेको सेयर बजारमा लगानी गर्नका लागि आकर्षित नगर्ने हुँदा बैंकहरुले कात्तिक १ बाट लागु हुनेगरी बढाएर सार्वजनिक गरेको ब्याजदरको असर सेयर बजारमा देखिएको हो। नयाँ ब्याजदर सार्वजनिक हुनुअघि दसैं बिदापछि खुलेको पहिलो दिनको सेयर बजार भने १७.५९ अंकले बढेको थियो।

अहिले ब्याज प्रतिस्पर्धामा अग्रस्थानमा हिमालयन बैंक देखिन्छ। बैंकले एक महिनामै मुद्दतिको ब्याज दर ३.१७ प्रतिशत बिन्दुले बृद्धि गरेर ११.६७ प्रतिशत पुर्याएको छ। 

बैंकले एक महिनामै मुद्दतिको ब्याज दर ३.१७ प्रतिशत बिन्दुले बृद्धि गेर ११.६७ प्रतिशत पुर्याएको छ। हिमालयनलाई एनआइसी एसियाले पछ्याएको छ। बैंकले ८.६ प्रतिशतको ब्याजलाई ११.१ प्रतिशत पुर्याएको छ। यसपछि लक्ष्मी बैंकले ९ प्रतिशतको ब्याजलाई ११.०५ प्रतिशत पुर्याएको छ।

बचतको ब्याज पनि ८.१ प्रतिशत पुगेको छ। सबैभन्दा बढि बचतको ब्याज एनआइसी एसियाले बढाएको छ। कात्तिकमा १० प्रतिशतभन्दा माथि ब्याज पुर्याउनेमा  एनसीसी, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक, सिभिल बैंक र कुमारी बैंक छन्।

यसका बाबजुद केही बैंकले भने ब्याजदर घटाएका छन्। असोजमा आक्रमक रहेको सनराइज बैंकले ब्याज दर घटाएको छ। सनराइजले १०.०७ प्रतिशतको मुद्दतिको ब्याज ९ प्रतिशतमा झारेको छ। नबिल, नेपाल इन्भेष्टमेन्ट, प्रभु, स्ट्यान्डर्ड चार्टर्डजस्ता बैंकले पुरानै ब्याजलाई निरन्तरता दिएका छन्। सानिमा बैंकले ९.५१ प्रतिशतको ब्याजलाई ८.५१ प्रतिशतमा झारेको छ। सरकारी बैंकहरुले पनि ब्याज बढाएका छन्।