पुनरागमनको दुई सातामै गन्तव्य विस्तार गर्दै गुण एयरलाइन्स, अब नौ ठाउँका लागि उडान तयारी

बिजमाण्डू
२०७८ असोज १७ गते १३:३१ | Oct 3, 2021
पुनरागमनको दुई सातामै गन्तव्य विस्तार गर्दै गुण एयरलाइन्स, अब नौ ठाउँका लागि उडान तयारी

काठमाडौं। गुण एयरलाइन्सले सेवा सुरु गरेको दुई सातामै गन्तव्य विस्तार गर्ने भएको छ। आठ वर्षपछि पुनः सञ्चालनमा आएको कम्पनीले यो साताबाटै आफ्नो सेवा नौ वटा गन्तव्यमा विस्तार गरेको कम्पनीका बजार प्रमुख एवं प्रवक्ता प्रज्वल थापाले बताए।

Tata
GBIME

गत बिहीबार नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति पाएसँगै गुणले यतीसँग खरिद गरेको जेटस्ट्रिम जहाज संचालनमा ल्याउन सुरु गरेको हो। अनुमति पाएसँगै कम्पनीले शुक्रबारबाट ३० सिट क्षमताको जेटस्ट्रिम जहाजमार्फत तुम्लिङटार, पोखरा र भरतपुर उडान सुरु गरिसकेको छ।

कम्पनीले यही साताबाट सिमरा, भैरहवा, जनकपुर , नेपालगञ्ज, सुर्खेत र विराटनगरतर्फ नियमित उडान सुरु गर्ने तयारी गरेको उनले बताए। कम्पनीले आफूसँग भएको दुई बिचक्राफ्ट र चारवटा जेटस्ट्रिम जहाजमार्फत दैनिक २२ वटा उडान गर्ने तयारी गरेको उनले जानकारी दिए।

'हामीसँग अहिले चारवटा जेटस्ट्रिम र दुईवटा बिचक्राफ्ट उडान संचालनका लागि तयारी अवस्थामा छन्। एउटा जेटस्ट्रिम जहाज मर्मत सम्भारको चरणमा छ। एक महिनाभित्रै यो जहाज पनि रिलिज गरिने छ,' प्रवक्ता थापाले भने।

चाडवाडको समयमा यात्रु सेवा र सुरक्षालाई मध्यनजर गर्दै विभिन्न गन्तव्यमा उडान सेवा विस्तार गरिएको उनले बताए। कम्पनीले त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको टर्मिनलमा यात्रुका लागि दुई 'दिगो' कम्पनीको विद्युतीय बसको संचालनमा ल्याएको छ। नेपालको विमानस्थलमा विद्युतीय र्‍याम्प बस सञ्चालन गर्ने गुण पहिलो कम्पनी रहेको उनको दाबी छ।