बजारमा तरलता अभाव चुलिएपछि २० अर्ब रुपैयाँ उपलब्ध गराउँदै राष्ट्र बैंक, एसएलएफ खपत बढ्यो

बिजमाण्डू
२०७८ भदौ १७ गते ०८:५० | Sep 2, 2021
बजारमा तरलता अभाव चुलिएपछि २० अर्ब रुपैयाँ उपलब्ध गराउँदै राष्ट्र बैंक, एसएलएफ खपत बढ्यो

काठमाडौं। बैंकिङ तरलता अभाव चुलिएपछि बिहीबार नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ सापटी उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले सात दिन अवधिको रिपो (ट्रेजरी बिल धितो राखेर उपलब्ध गराइने तरलता) जारी गर्ने छ।

Tata
GBIME

यसमा बैंकहरुले ब्याज दरमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ। सबैभन्दा बढि ब्याज जसले तिर्छ उसैले बढि रिपो पाउँछन्। यद्यपी ब्याज ५ प्रतिशत भने नाघ्दैन।

५ प्रतिशतमा जुनसुकै बेला माग्दा पाइने स्थायी तरलता सुविधा (एसएलएफ) उपलब्ध हुन्छ। रिपो र एसएलएफमा यहीँनेर थोरै अन्तर छ। रिपो कहिले जारी गर्ने र कति रकमको जारी गर्ने भन्ने राष्ट्र बैंकको मुडमा भर पर्छ। एसएलएफ भने बैंकहरुले मागेकै बेलामा जतिसुकै रकम (ऋणपत्र धितो जति छ त्यसको ९० प्रतिशत) पनि पाउँछन्।

रिपोको ब्याज प्रतिस्पर्धाबाट तय हुन्छ। एसएलएफको ब्याज भने राष्ट्र बैंकले ५ प्रतिशत तय गरेको छ। बैंकहरुले बुधबार पनि एसएलएफ उठाएका थिए। अहिल ३ प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्ने पैसा समेत नभएपछि बैंकहरु तरलता अभावमा छन्। बुधबार बैंकहरुले ८ अर्ब ६५ करोड एसएलएफ उठाएका थिए।