वीरगंजमा सवारी लाइसेन्स बितरणमा ढिलाई, पुरानै २५ हजार छाप्न बाँकी, नयाँ ट्रायल पनि रोकियो

बिजमाण्डू
२०७८ साउन १८ गते १७:०४ | Aug 2, 2021

वीरगंज। प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय वीरगंजले एक वर्षसम्म पनि लाइसेन्स वितरण गर्न सकेको छैन। लाइसेन्सको परीक्षामा लिखित र प्रयोगात्मक परीक्षा पास गरेको एक वर्षमा पनि लाइसेन्स नपाएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

Tata
GBIME

परीक्षा पास भएको एक वर्ष बित्दा पनि लाइसेन्स नपाउँदा सवारी सञ्चालनमा पनि सास्ती र ठाउँ–ठाउँमा ट्राफिक प्रहरीबाट चेकजाँच गर्दा दुःख भोग्नुपरेको सेवाग्राहीहरुको भनाई छ।

यातायात व्यवस्था कार्यालय वीरगंज लाइसेन्स शाखाका अनुसार पुरानै करीब २५ हजार लाइसेन्स छाप्न बाँकी रहेको छ।

कार्यालयका कर्मचारीका अनुसार छापिएर आएको ५ हजार लाइसेन्स निषेधाज्ञा खुकुलो भएपछि वितरण भइरहेको र छाप्न बाँकी लाइसेन्सको लागि पटक–पटक विभागलाई पत्राचार गरिसकिएको छ। एक अधिकृतका अनुसार विभागको लाइसेन्स छाप्ने मेशिनहरु नियमित रुपमा काम नगर्ने गरेको र केही मेशिन बिग्रिएको कारणले पनि छपाई हुन नसकेको हो।

त्यसैगरी लाइसेन्स शाखाको गत वैशाख दोस्रो सातादेखि गर्न भनिएको ट्रायल परीक्षा पनि रोकिएको छ । यातायात व्यवस्था विभागले चालू आवको लागि नयाँ नीति नियम र मापदण्डबाट ट्रायल परीक्षा दिनुपर्ने भएकोले त्यसको तयारी भइरहेको कर्मचारीहरु बताउँछन् ।

ट्रायल परीक्षा गर्ने थलो भेहिकल एन्ड सोल्युशन प्रालिसंग चालू आवमा सम्झौता नवीकरण नभएकोले पनि नयाँ मापदण्डमा लाइसेन्सको ट्रायल हुन नसकेको हो।