रुरु बन्यो सेयर बजारको सबैभन्दा महंगो जलविद्युत कम्पनी, प्रतिकित्ता मूल्य एक हजार नाघ्यो

बिजमाण्डू
२०७८ जेठ ४ गते १२:०५ | May 18, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। रुरु जलविद्युत कम्पनी सेयर बजारको सबैभन्दा महंगो जलविद्युत कम्पनी बनेको छ। मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०६४ रुपैयाँ पुगेको छ।

आजको दिनमा एक हजार रुपैयाँभन्दा बढी सेयर मूल्य भएको रुरु एक्लो जलविद्युत कम्पनी समेत हो। यस अघि चिलिमे जलविद्युत कम्पनीको सेयर मूल्य मात्रै एक हजार रुपैयाँभन्दा बढी पुगेको थियो।

अहिले चिलिमेको सेयर मूल्य समेत ७०० रुपैयाँ हाराहारी पुगेको बेला रुरुको सेयर मूल्य एक हजार रुपैयाँ नाघेको हो। रुरु पछि अहिले माथिल्लो तामाकोशी र माउन्टेन इनर्जी नेपालको सेयर मूल्य ८०० रुपैयाँभन्दा केही बढी छ। 

गत वर्ष कम्पनीले गुल्मीका स्थानीयको लागि प्रति कित्ता १०० रुपैयाँ र आम सर्वसाधारणको लागि प्रति कित्ता १२० रुपैयाँका दरले प्राथमिक सेयर निष्कासन गरेको थियो।

स्थानीय प्रभावितका लागि चार लाख सात हजार ७०५ कित्ता र आम सर्वसाधारणलाई चार लाख सात हजार ७०६ कित्ता सेयर बिक्री गरिएको थियो।

प्रति मेगावाट लागत १५ करोड रुपैयाँ भन्दा कम रहेको उक्त आयोजनाको विद्युत उत्पादन क्षमता पनि राम्रो छ। कम लागतमा सम्पन्न भएको आकर्षक परियोजना हुनुका साथै सर्वसाधारणमा थोरै मात्र सेयर जारी भएकाले कम्पनीको सेयर मूल्य छोटो समयमै एक हजार रुपैयाँ भन्दा बढी पुगेको हो।