गोल्याण समूहको ‘हायात प्लेस’ जुलाइदेखि सञ्चालनमा आउँदै , पाँचतारे स्तरको होटलमा क्यासिनो पनि

बिजमाण्डू
२०७८ बैशाख १० गते १०:०१ | Apr 23, 2021
गोल्याण समूहको ‘हायात प्लेस’ जुलाइदेखि सञ्चालनमा आउँदै , पाँचतारे स्तरको होटलमा क्यासिनो पनि

Tata
GBIME

काठमाडौं। व्यवसायिक घराना गोल्याण समूहको पाँचतारे स्तरको होटल हायात प्लेस आगामी जुलाइदेखि सञ्चालनमा आउने भएको छ। यो होटल अन्तर्राष्ट्रिय चेन होटल हायात इन्टरनेशनलको स्तरको हुनेछ।

काठमाडौंको ताहाचलमा पाँच वर्षदेखि निर्माणाधीन उक्त होटलको अन्तिम चरणका काम पछिल्लोपटक कोभिड-१९ का कारण प्रभावित भएको थियो। पूर्वनिर्धारित मितिभन्दा डेढ वर्ष ढिला गरी होटल सञ्चालनमा ल्याइने भएको हो। अपार्टमेन्टको योजनालाई गोल्याण समूहले होटलमा रुपान्तरण गरेको हो। यसमा अहिले अन्तिम चरणको काम भइरहेको छ।

विदेशी पर्यटकको नेपाल आवागमन सामान्य अवस्थामा फर्किए लगत्तै क्यासिनो सेवा पनि विस्तार गर्ने योजना रहेको सञ्चालक अक्षय गोल्याणले बताए। 'निर्माणको काम लगभग ९८ प्रतिशत पूरा भइसकेको छ। कोरोनाको दोस्रो लहरले गर्दा सानातिना सामान रुममा प्रयोग हुने अलार्म क्लक लगायत आइपुग्न ढिला भएको छ। होटल निरीक्षणका लागि हायात इन्टरनेशनलबाट प्रतिनिधि आउन पाइरहेका छैनन्,' उनले भने, 'संक्रमण नियन्त्रणमा आएसँगै अबको तीन महीनाभित्रै होटल अपरेसनमा ल्याउने योजनामा छौं।'

१० वटा सुइट्स रुम (तीन सुइट र सातवटा टेरेससहितको रुम) सहित १५३ रुम क्षमताको होटलमा एउटा अल डे रेष्टुरेन्ट, बारसहितको टेरेस पुल, जिम हल(ट्वेन्टी फोर आवर फिटनेस क्लब) को सुविधा राखिएको उनले जानकारी दिए। साना-ठूला सभा समारोह आयोजना गर्नका लागि होटलमा ५० देखि चार सय जना क्षमताको चारवटा बैंक्वेट हल छन्।

ग्राहक सेवा मध्यनजर गर्दै होटलमा चिल्ड्रेन स्विमीङ पुलको पनि सुविधा हुने उनले बताए। १५ तले भवन संरचना रहेको होटलमा सवारी पार्किङका लागि डबल बेसमेन्ट प्रयोग हुनेछ। उनका अनुसार पार्किङमा अधिकतम ६० वटा सवारी साधन राख्न सकिनेछ। होटलले एक वर्ष अगाडिदेखि नै पूर्ण पारिश्रमिक दिएर उच्च पदमा जनजशक्ति  भर्ती गरिसेकको उनले जानकारी दिए। होटलका सेवा विधिवत् सञ्चालनमा ल्याउनु एक महिनाअघि रिसेप्सनिस्टलगायत फ्रन्टलाइनमा काम गर्ने कर्मचारी भर्ना गर्ने योजना छ। 

'स्टार रेटिङका लागि हामीले तीन साता अगाडि आवेदन दिइसकेका छौं। हाम्रो आवेदन फाइभ स्टार रेटिङका लागि हो। यो सँगै क्यासिनो पनि चलाउने प्रोभिजन राखेका छौं। यसका लागि जग्गा पनि छुट्याएका छौं। तर हालको अवस्थामा तत्कालै क्यासिनो सञ्चालन गर्ने निश्चित भइसकेको छैन,' उनले भने, 'पर्यटकीय गतिविधिले पिकअप लिएसँगै हामी क्यासिनो सेवा विस्तारमा गर्छौं।' 

स्टार होटलका पाहुना विदेशी पर्यटक हुन्। पर्यटनबाटै चल्ने भएका कारण अहिलेको अवस्थामा होटल उद्योग सञ्चालन गर्न धैर्य र सहकार्य गर्नु नै मुख्य विकल्प रहेको बताउँदै उनले भने, 'पर्यटकीय गतिविधि भएमात्र होटल उद्योग चल्ने हो। अहिलेको अवस्थामा यो उद्योगमार्फत तत्कालै नाफा आर्जन गर्ने सम्भावना छैन। करिब पाँच वर्षयता होटल तयार गर्नै ठूलो लगानी त भयो,' उनले बिजमाण्डूसँग भने, 'हामी मात्र नभएर हाम्रा साझेदार, कर्मचारी, बैंक लगायतबीच आपसी सहकार्य हुन आवश्यक छ। जबसम्म पर्यटकीय गतिविधि सुरु हुँदैन तबसम्म धैर्यता र आपसी समझदारी हुन आवश्यक छ।'

पूर्वाधार तयार भइसकेर सञ्चालनमा ल्याइए लगत्तै होटल कुनै पनि हालतमा बन्द नगर्ने सोच रहेको उनले बताए। होटल सञ्चालनमा ल्याएपछि अवस्था र माग अनुसार रुम अपरेसनमा ल्याउने योजना रहेको उनले जानकारी दिए। 'त्यतिबेलाको अवस्था हेरेर माग अनुसार २० देखि ५० वटा रुम अपरेसनमा ल्याउनेछौं।  जुन बेला डिमाण्ड बढ्दै जान्छ त्यही अनुसार सेवा विस्तार गर्दै जानेछौं,' उनले भने। 

सेवा सुरु गर्नका लागि होटलले कर्मचारी र पाहुनाको स्वास्थ्य सुरक्षा अवलम्बनका लागि पुर्व तयारी गरिसकेको छ। 'कोभिड-१९ को पहिलो लहरका बेला हामी कन्स्ट्रक्सन फेजमै थियौं। यो समय हामीले कोभिड नियन्त्रणका लागि विविध सावधानीका तरिका अध्ययन गर्ने मौका पाइसकेका छौं। हामीले आफ्नो इन्टेरियर फिनिसिङ, व्यवस्थापन र सेफ्टी अवलम्बनमा अरु भन्दा अझै प्रभावकारी बनाएका छौं। अटोमाइज्ड सेफ्टी प्रिकसन  तयार गरिसकेका छौं,' उनले भने।

कोभिड-१९ का कारण होटल सञ्चालनमा ल्याउने पूर्व निर्धारित समयावधिमा डेढ वर्ष लम्बिएको उनले बताए। यो ढिलाइका कारण आफ्नो ५० प्रतिशत समय र अवसर खेर गएको उनको भनाइ छ।