वीरगंजमा १५ करोडको चिल्ड्रेन पार्क अलपत्र, नगरप्रमुख भन्छन्- ठेक्का लागेन अब आफैं चलाउने

बिजमाण्डू
२०७७ चैत्र १० गते १२:१९ | Mar 23, 2021

Tata
GBIME

वीरगंज। मझौला शहर एकीकृत शहरी वातावरणीय योजना अन्तर्गत वीरगंज महानगरको भगवती टोलमा बनाइएको चिल्ड्रेन पार्क उद्घाटन भएको अढाई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।

करीब १५ करोड रुपैयाँ खर्चेर बनाइएको सो पार्क २०७५ असोज २० गते नगरप्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका थिए।

त्यस लगत्तै महानगरपालिकाले पार्क सञ्चालनको लागि पटक–पटक टेन्डर आह्वान गरे पनि अहिलेसम्म कसैले पनि टेन्डर सकार गरेको छैन।

पछिल्लोपटक गरिएको टेन्डरमा  सकार गर्नेले जम्मा गरेको साढे ६ लाख रुपैयाँ धरौटी जफत भएको तर पार्क  सञ्चालनमा नल्याएको नगरप्रमुख सरावगीले बताए।

उनले आगामी दिनमा सो  पार्क महानगरपालिकाले नै सञ्चालन गर्ने जानकारी समेत दिए। 'टेन्डर निकालेर थाक्यौं, अब महानगर आफैंले सञ्चालन गर्छ,' नगरप्रमुख सरावगीले भने।

तयार भए पनि संचालनमा नआएको उक्त पार्क हाल पार्क मर्निङ वाकको लागि मात्र खुला गरिएको छ।

नगरप्रमुख सरावगीले पार्कको निगरानीको लागि तीन जना कर्मचारी खटाइएको भए पनि रातको समयमा पार्क भत्काउने बिगार्नेहरू बढी सक्रिय हुने गरेको बताए ।

लागूऔषध प्रयोगकर्ता र जुवाडेहरूको अखडाका रूपमा समेत प्रयोग हुने गरेकोले तत्काल त्यस पार्कको संरक्षण हुन जरुरी रहेको स्थानीयबासी बताउँछन्।

पार्कमा भएका शौचालयका सामानहरू तोडफोड र चोरी भएका छन् भने प्रयोगमा नआएका कारण पार्कका विभिन्न स्थानहरु बिग्रिसकेका छन्।