सीएसआर कोषबाट आधुनिक अस्पताल खोल्ने बैंकरको प्रस्तावप्रति गभर्नर सकारात्मक, ‘अध्ययन गरौं’

बिजमाण्डू
२०७७ माघ २८ गते १६:२३ | Feb 10, 2021

Tata
GBIME

काठमाडौं। नेपाल बैंकर्स संघले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको पैसा 'बैंकिङ अस्पताल' निर्माणमा खर्च गर्ने नयाँ अवधारणा अगाडि सारेको भन्दै राष्ट्र बैंकले यसका बारेमा अध्ययन गरेर अगाडि बढ्ने आश्वासन दिएका छन्।

बुधबार मौद्रिक नीतिको अर्द्धबार्षिक समीक्षाअघि सुझाब लिन बैंकरसँग छलफल गरेका गभर्नरले सीएसआर कोषबाट अस्पताल खोल्ने कुरा निक्कै राम्रो प्रस्ताव भएको भन्दै यसमा के-कसरी अगाडि बढ्न सकिन्छ त्यसको अध्ययन गर्ने बताएका हुन्।

'यो राम्रो प्रस्ताव हो। कत्तिको ब्यवहारिक हुन्छ। यसमा अलिकति अध्ययनहरु गरौं' उनले भने। 

संघले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाहरुसमेतको सहभागितामा अस्पताल निर्माण गर्ने अवधारणा अगाडि सारेको थियो। बैंकर संघले त यस्तो अस्पताल निर्माणका लागि अध्ययन पनि थालिसकेको छ। संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको संयोजकत्वमा एक समिति नै बनाइसकेको छ। 

समितिले नयाँ अस्पताल नै निर्माण गर्ने कि कुनै अस्पतालसँग आबद्ध भएर अगाडि बढ्ने बारे अध्ययन गर्ने छ। अध्ययन  थाल्दै गर्दा आज संघका अध्यक्ष भुवन दहालले गभर्नरले डाकेको बैठकमा कुरा राखेका हुन्। गभर्नरले राष्ट्र बैंकले पनि के कसरी सहयोग गर्न सक्छ भनेर जिज्ञासा राखेका थिए।

राष्ट्र बैंकले, बैंक तथा वित्तीय संस्थाहरुले गर्ने खुद मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्न निर्देशन नै जारी गरेको छ। यो पैसा तोकिएका बिभिन्न क्षेत्रमा वर्ष दिनभित्र खर्च गर्न भनिएको छ।

जस्तो, कुनै बैंकले एक अर्ब नाफा गर्यो  भने सीएसआर कोषमा एक करोड जम्मा गर्नु पर्छ। यही पैसाबाट एउटा अस्पताल निर्माण गर्ने संघको अवधारणा हो।

'प्रहरी, नेपाली सेना र निजामती कर्मचारी लगायतको आफ्नो अस्पताल छ। त्यहाँ उनीहरुलाई सहुलियत दरमा उपचार हुन्छ। आम नागरिकले पनि उपचार गर्न पाउँछन्,' संघका अध्यक्ष दहालले बिजमाण्डूसँग भने, 'त्यस्तै बैंकिङ क्षेत्रमा काम गर्नेहरुका लागि सहुलियत दरमा उपचार हुने अस्पताल खोल्दा राम्रै हुन्छ। आम जनताले पनि कमसेकम लागतमा उपचार पाउँछन्।' उनले उपचारको खोजीमा धेरै जना बिदेश जाने गरेको भन्दै राम्रो अस्पताल खोल्न सकिए नेपालमै उनीहरुलाई रोक्न सकिने पनि बताए।

हरेक वर्ष जम्मा हुने सीएसआरको पैसाबाट आधुनिक उपकरण जडित अस्पताल निर्माण गर्न सकिने संघको बुझाइ हो। 'अहिले कतिपय ब्यक्तिहरु उपचारको खोजीमा विदेश गइरहेका हुन्छन्। चिकित्सकहरु पनि विदेश नै पलायन भइरहेका हुन्छन्,' दहालले भने, 'आधुनिक पूर्वाधार सुसम्पन्न अस्पताल निर्माण गर्न सके बिरामी र चिकित्सक विदेश जाने क्रममा नियन्त्रण हुन्छ। यसले देशलाई नै फाइदा पुग्छ।'