सवारी लाइसेन्सको अनलाइन आवेदन अनलिमिटेड बनाउने तयारी, सिस्टम परिमार्जन गरिँदै

बिजमाण्डू
२०७७ पुष २७ गते १३:४३ | Jan 11, 2021
सवारी लाइसेन्सको अनलाइन आवेदन अनलिमिटेड बनाउने तयारी, सिस्टम परिमार्जन गरिँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। आगामी साताबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन अनलिमिटेड बनाइने भएको छ। यसका लागि तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ। 

अनलाइन आवेदन खुला गरिए पनि सिस्टम इररले भर्न नपाएको गुनासो बढेपछि विभागले अनलिमिटेड बनाउन लागेको जनाएको हो। 'हामी सिस्टममा केही मोडिफाइ गर्दैछौं। अब इच्छुक सबैले अनलाइन आवेदन दिन सक्छन्। सिस्टमले सबै आवेदन लिन्छ,' विभागका महानिर्देशक गोगन बहादुर हमालले भने, 'तर लिखित परीक्षा र ट्रायल भने कार्यालयहरुले क्षमता अनुसार विस्तारै लिदै जान्छन्।'

अहिले विद्यमान सिस्टमले कोटा अनुसार मात्रै आवेदन लिन्छ। आवेदन भरेपछि लिखित परीक्षाको मिति तोकिदिन्छ। लिखित परीक्षा दिएपछि आवेदकले ट्रायलका लागि समय पाउँछन्। अब भने अनलाइन आवेदन दिएका सुरुका आवेदकबाट कार्यालयको क्षमता अनुसार लिखित र ट्रायल परिक्षा संचालन गर्दै जाने योजना छ।

'दैनिक माग नै ७/८ हजार थियो। करिब ९ महिना निवेदन लिनै बन्द भयो। कार्यालयको क्षमता थोरै छ। धेरैले फारम भर्न नै नपाएको गुनासो गरे,' हमालले भने, 'अब सबै आवेदन लिने तर क्षमता/कोटा अनुसार मात्रै मिति  दिँदै जाने हो।'

गत चैत ११ बाट सरकारले लकडाउन जारी गरेदेखि लाइसेन्सको ट्रायल पनि रोकिएको थियो। बीचमा कर, नवीकरण र नामसारी लगायतको सेवा खुले पनि नयाँ लाइसेन्स लिन चाहनेका लागि सेवा बन्द थियो। सबै क्षेत्र खुलको भन्दै चौतर्फी रूपमा खोल्न दबाब आएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पूरा गरेर पुस १४ गतेदेखि खुलाउने निर्णय भयो।  

करिब ९ महिनापछि आवेदन खुला गरिँदा क्षमताभन्दा आधा मात्रै कोटा तोकिएको थियो। जसका कारण अधिकांशले आवेदन नै दिन पाएनन्।  
लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि कोटा तोकिएको छ। भीडभाडका कारण जोखिम हुने भन्दै कोटा तोकिएको हो।  

उपत्यकामा चारवटा भक्तपुरको जगाती, काठमाडौंको ठूलो भर्‍याङ, सुकेधारा, ललितपुरको एकान्तकुना गरि चारवटा कार्यालयमा परीक्षा सञ्चालन हुन्छ। ती कार्यालयहरुमा मोटरसाकल र स्कुटरका लागि तीन सय तथा कार र जीपका लागि दुई सय जनाको कोटा छुट्याइएको थियो। सोही कारण धेरैले आवेदन दिन नपाएका हुन्।