प्रहरीले व्यापारीलाई दु:ख दिएको भन्दै दुई दिनदेखि पर्साको भिस्वा बजार बन्द, उपभोक्ता मर्कामा

बिजमाण्डू
२०७६ भदौ २८ गते १९:४० | Sep 14, 2019

Tata
GBIME
Nepal Life

वीरगंज। पर्साको ग्रामिण भेगको मुख्य बजारको रुपमा चिनिने भिस्वा बजार दुई दिनदेखि बन्द रहेको छ। भिस्वा किराना व्यापार संघको नेतृत्वमा प्रहरीले व्यापारीलाई आतंकित बनाएको भन्दै व्यवसायीहरुले बजार बन्द गरेको हुन्।

पछिल्लो समय पर्सा प्रहरीले वीरगंजबाट भिस्वा लगिएका मालसामान बिच बाटोमा नियन्त्रणमा लिइ व्यवसायीहरुलाई दु:ख दिन थालेपछि व्यापार ठप्प पारी हडतालमा उत्रेको भिस्वा व्यापार संघका अध्यक्ष गणेशप्रसाद जैसवालले बताए।

व्यवसायीको हडतालले गर्दा भिस्वा बजारका पसलहरु दुई दिनदेखि नखुल्दा ग्रामिण भेगका उपभोक्ता तथा सर्वसाधारण मर्कामा परेका छन्। दैनिक उपभोग्य सामान खरिद गर्न नसकेर सयौँ उपभोक्ता मर्कामा परेको छिपहरमाई गाउँपालिका जयमंगलापुरका शिक्षक बलिस्टर सिंहले बताए। उनले व्यापारीहरुको माग सुनेर बजार खुलाउनु पर्ने बताए। बजार खुलाउनमा स्थानीय प्रहरी प्रशासनले पहल गर्नु पर्ने आवश्यकता रहेको उनले बताए।

शुक्रवार भिस्वाका व्यवसायीहरुको समूहले पर्साका नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना एसपीहरुको उपस्थितिमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसँग आफ्नो समस्या राखेका थिए।

बिहीवार राति भिस्वाका करिव ११ जना पसल सञ्चालकका सामान ईलाका प्रहरी कार्यालय पोखरीले बिच बाटोमै नियन्त्रणमा लिएपछि भिस्वाका व्यवसायीहरु आक्रोशित बनेका थिए।

'वीरगंजबाट खरिद गरी भ्याट बिलसहित भिस्वा लगिरहेको खुद्रा प्रयोजनको सामान प्रहरीले बाटोमा नियन्त्रणमा लिन पाउदैन, त्यसो हो भने सीमा नाकाका पसललाई किन व्यापार गर्न सरकारले स्वीकृति दिन्छ?', व्यवसायीले प्रश्न गरे। भिस्व बजारबाट भारतीयहरुले ठुलो परिमाणमा मालसामान खरिद गरेर भारत लग्दा भने प्रहरीले कुनै कारवाही नगरेको उनीहरुको आरोप छ।

पक्राउ परेका सामान तस्करी प्रयोजनको भएकोले प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता अनन्तराम शर्माले बताए। बरामत भएका सामान किराना व्यावसायीको प्रयोजनको लागि नलगिएको र भिस्वा लगेर तस्करी गर्ने नियत व्यापारीको देखिएकोले पक्राउ गरिएको उनले बताए।