एनआरएन इन्फ्रास्ट्रक्चरले ३४ करोडको आइपिओ ल्याउँदै, जलविद्युत र दोस्रो बजारमा पनि लगानी

बिजमाण्डू
२०७६ साउन २७ गते १०:५३ | Aug 12, 2019


काठमाडौं। गैर आवासिय नेपालीहरुले जलविद्युत क्षेत्रमा लगानी गर्न स्थापना गरेको ‘एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलपलमेन्ट’ले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले नेपाल धितोपत्र बोर्डमा ३३ करोड ९८ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने अनुमतिको लागि निवेदन दिएको छ।
कम्पनीको हालको चुक्ता पूँजी ७३ करोड ५६ लाख रुपैयाँ रहेको छ।

कम्पनीले पाँचौ वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। प्राथमिक शेयर निष्काशन सँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैयाँ पुग्ने छ।

कम्पनीले हाल सम्म १० वटा हाइड्रोपावर कम्पनीमा लगानी गरेको छ। कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको शेयरमा लगानी गरिरहेको छ। अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीले एक करोड ४३ लाख रुपैयाँ नाफा गरेको थियो।

कम्पनीका कार्यकारी अध्यक्ष जीवनाथ लामिछाने हुन्। कम्पनीमा उनको लगानी ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीले २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ३८ करोड रुपैयाँ लगानी गरेको छ। उक्त आयोजना हिमालयन पावर पार्टनर कम्पनीले सञ्चालन गरिरहेको छ।

त्यस्तै ५४ मेगावाट क्षमताको सानिमा मिडिल तमोर हाइड्रोपावरको दुई लाख ५० हजार कित्ता शेयर खरिद गरेको छ। जलविद्युत कम्पनीको शेयरमा लगानी गर्ने गरी स्थापना भएको उक्त कम्पनीले दोस्रो बजारबाट पनि शेयर खरिद बिक्री गर्ने गरेको छ।