काठमाडौं। एक महिनामै मूल्य बृद्धि दर अस्वभाविक रुपमा बढेको छ। चैतमा ४.४ प्रतिशत रहेको मूल्य बृद्धि दर बैशाखमा आउँदा ५.३ प्रतिशत पुगेको छ।
जबकी यो बेला भारतको मूल्य बृद्धि दर घटेको छ। तैपनि नेपालमा भने मूल्य बृद्धि दर ०.९ प्रतिशत बिन्दुले उक्लिएको हो। लक्ष्यभन्दा तलै भए पनि एकै महिनामा करिव १ प्रतिशत बिन्दु हाराहारीले मूल्य बृद्धि बढ्नु भनेको अस्वभाविक हो। चैत र बैशाखको बृद्धि दरलाई तुलना गर्दा यो २० प्रतिशतको बृद्धि हो।
राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको बैशाखसम्मको विवरणमा खाद्यान्नको मूल्य बृद्धि उच्च देखिन्छ। गत चैतमा खाद्यान्नको मूल्य बृद्धि दर २.८ प्रतिशत थियो। बैशाखमा यो बढेर ५.८ प्रतिशत पुगेको छ। गैरखाद्यान्न जस्तो, लुगाफाटा, फर्निचर, यातायात सेवाको भाउ खासै बढेको छैन। गैर खाद्य समूहको मूल्य बृद्धि चैतमा ५.७ थियो भने बैशाखमा ५.८ प्रतिशत मात्र पुगेको छ।
भारतीय निर्वाचनका कारण नेपालमा खाद्यान्नको आयात केही समय सहज थिएन। त्यसको प्रभावले नेपालमा अभाव हुँदा मूल्यमा चाप परेको देखिन्छ।
हिमालमा ६.१ प्रतिशतले बढेको छ। राजधानी उपत्यकामा ६.०५ प्रतिशत, पहाडमा ५ र तराईमा ४.९ प्रतिशतले मूल्य बृद्धि भएको छ। चैतमा हिमालमा ६.२ प्रतिशतले भएको थियो। पहाडमा ४.८, राजधानी उपत्यकामा ४.७ र तराईमा ४ प्रतिशतले मात्र मूल्य बढेको थियो।