तराईको लागि तीन अर्ब रुपैयाँको विशेष व्यवस्था, ‘मधेशको विकासमा सरकारको ध्यान कम हुँदैन’

बिजमाण्डू
२०७५ माघ २८ गते १६:२३ | Feb 11, 2019


सिराहा। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

सिराहाको अर्नमा गाउँपालिका वडा-१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘संविधानलाई मधेशी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं।’

मधेशको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै उनले मधेशको विकास गरेर मात्रै मधेशी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताए।

‘ने क पाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ,’ प्रचण्डले भने, ‘तराई मधेशको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ।’

सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको उनको भनाइ थियो। ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ।’

सिराहाको आँप जोनदेखि धानको सुपरजोन बनाउने प्रतिवद्धता व्यक्त  गर्दै उनले थपे, ‘अहिलेको संविधानले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ। सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ। उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु पर्ने छैन। गरिबको उपचार सरकारले गर्नेछ। नगरे अदालतमा मुद्दा दिन पाइन्छ।’

पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागिपरेको अध्यक्ष प्रचण्डको भनाइ थियो।