नेप्सेको सञ्चालक समिति बैठक बस्न नसक्दा मार्जिन कारोबारको प्रकृया अगाडि बढेन

बिजमाण्डू
२०७५ माघ २६ गते १०:४९ | Feb 9, 2019
नेप्सेको सञ्चालक समिति बैठक बस्न नसक्दा मार्जिन कारोबारको प्रकृया अगाडि बढेन

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठक बस्न नसक्दा मार्जिन कारोबारको लागि निर्देशन जारी गर्न सकेको छैन। नेपाल धितोपत्र बोर्डले अघिल्लो शुक्रबार मार्जिन कारोबारको लागि आवश्यक प्रकृया अगाडि बढाउन नेप्से र ब्रोकरहरुलाई निर्देशन जारि गरेको भए पनि अहिलेसम्म कुनै पनि प्रकृया अगाडि बढाइएको छैन। 

Tata
GBIME
Nepal Life

बोर्डका केही सञ्चालकहरु बैठकमा उपस्थित हुन नसकेपछि प्रकृया अगाडि नबढेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारि दिए। केहि दिनमा बैठक बसेर मार्जिन कारोबारका लागि प्रकृया अगाडि बढाइने साउदले जानकारि दिए। 

बोर्डले स्वीकृति गरेसँगै मार्जिन कारोबारका लागि तयार भएको कार्यविधि अनुसार ब्रोकरलाई पत्राचार गरिने साउदले बताए।

राष्ट्र बैंकको निर्देशन कुर्दै बोर्ड र नेप्से   
वित्तीय कारोबारको सम्बन्धमा नेपाल राष्ट्र बैंक स्वत: आकर्षित हुने भएकाले नेप्से र बोर्डले निर्देशन पर्खेर बसेका छन्। धितोपत्र बोर्डले गत शुक्रवार निर्देशन जारि गर्नु अगाडि राष्ट्र बैंकबाट मौखिक स्वीकृति पाएको थियो। 

राष्ट्र बैंकसँगको कुराकानीमा मार्जिन कारोबारको प्रकृया सकिएपछि अन्तिममा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए। यसका लागि राष्ट्र बैंकले केही निर्देशन जारि गर्न सक्ने उनले बताए। 

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार नेपालभित्र हुने सम्पुर्ण वित्तीय कारोबारको नियमन गर्ने अधिकार राष्ट्र बैंकसँग रहेको छ। यसका साथै बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा मार्जिन कारोबार सम्बन्धि कुनै पनि व्यवस्था नहुँदा राष्ट्र बैंक र धितोपत्र बोर्डबीच मतभेद रहँदै आएको छ।
 
पर्खाइमा ब्रोकर पनि  
नेपाल धितोपत्र बोर्डले नेप्से र ब्रोकरहरुलाई एकै पटक परिपत्र जारि गरे पनि नेप्सेको निर्देशन नआउँदा प्रकृया अगाडि नबढाएको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए। कारोबारको लागि अनुमति लिँदा के कस्ता कागजपत्र पुरा गरेर आउनु पर्ने हो, त्यस सम्बन्धमा निर्देशन आएपछि मात्रै प्रकृया अगाडि बढाउने रानाभाटले बताए। 

नेप्सेले जति चाँडो निर्देशन जारि गर्छन त्यति चाँडो मार्जिन सुविधा प्रदान गर्न सकिने ब्रोकरहरु बताउँछन्। कार्यविधि अनुसार ब्रोकरहरुले अडिटरबाट आफ्नो नेटवर्थ कति हो त्यसको रिपोर्ट तयार पार्नु पर्छ। मार्जिन सुविधा प्रदान गर्न योग्य ब्रोकरहरुले अनुमति दिन पाउँछन्। 

निवेदन माग गरिएसँगै कुन कुन कम्पनीहरुले कारोबार गर्न मिल्ने हो त्यसको लिस्ट पनि आउनु पर्ने रानाभाटले बताए। कार्यविधि अनुसार कुन कुन कम्पनीको कारोबार गर्न मिल्छ त्यसका सम्बन्धमा पनि काम भैरहेको साउदले जानकारि दिए।